खेल

दुवैतर्फ एपिएफ फाइनलमा

काठमाडौं – राजधानीमा जारी पाँचौं आरबिबी पुरुष/महिला क्लब च्याम्पियनसिपमा महिलातर्फ साबिक विजेता एपिएफ र होङ्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्दा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र एपिएफ क्लब शुक्रबार उपाधिका लागि भिड्ने भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बिहीबार सम्पन्न महिलातर्फको पहिलो सेमिफाइनलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएको हो। एपिएफले पुलिसलाई ३–० सोझो सेटमा हराउँदै उपाधिनजिक पुगेको हो। सुरुआतबाट नै पुलिसलाई दबाबमा राख्दै खेल पस्किएको एपिएफले पहिलो सेट २५–१५ ले आफ्नो बनाएको थियो। दोस्रो सेटमा पनि २५–१६ को सहज जित निकाल्दै जिततर्फ लम्किएको एपिएफले तेस्रो सेटमा जित निकाल्न मिहिनेत गर्नुप-यो। २५–२२ को प्रतिस्पर्धात्मक जित निकाल्दै एपिएफले अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो। यसँसँगै एपिएफ जारी प्रतियोगितामा अपराजित रहँदै फाइनल यात्रा तय गर्न सफल भएको हो। एपिएफले अब उपाधिका लागि न्यु डायमन्ड स्पोर्ट्स क्लबको सामना गर्नेछ।

प्रतियोगिताअन्तर्गत बिहीबारै सम्पन्न महिलातर्फको दिनको दोस्रो सेमिफाइनल खेलमा न्यु डायमन्डले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा स्तब्ध पार्दा एपिएफले फाइनल प्रतिद्वन्द्वी पाएको हो। साबिक उपविजेतासमेत रहेको न्यु डायमन्डले पनि विभागीय टोली आर्मीलाई सुरुआतबाट नै दबाबमा राखेको थियो। प्रतिभा माली, सलिना श्रेष्ठ र राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही गरी तीन राष्ट्रिय खेलाडी सम्मिलित न्यु डायमन्डले आर्मीमाथि पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको थियो। न्यु डायमन्डले दोस्रो सेट रोमाञ्चक २५–२२ ले जित्दैे तेस्रो सेटमा २५–१३ को सहज जित निकाल्दा पुरानो प्रतिद्वन्द्वी एपिएफसँगको भेट पक्का गरेको हो।

अन्तिम दुईमा स्थान बनाएका एपिएफ र न्यु डायमन्ड शुक्रबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। यस्तै सेमिफाइनलमा पराजित भएका टोलीद्वय नेपाल पुलिस र आर्मी शुक्रबारै तेस्रो स्थानको छिनोफानोका लागि भिड्नेछन्। प्रतियोगिताअन्तर्गत बिहीबारै सम्पन्न पुरुषतर्फको खेलमा विभागीय टोली एपिएफ र हेल्प नेपाल स्पोर्ट्स क्लब भिड्ने भएका छन्। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको दिनको तेस्रो खेलमा एपिएफले आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै अन्तिम दुईमा स्थान बनाउँदा हेल्प नेपाल स्पोर्ट्स क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसको चुनौतीलाई समाप्त गर्दै एपिएफसँगको भेट पक्का गरेको हो।

निकै प्रतिस्पर्धात्मक बनेको पुरुषतर्फको पहिलो सेमिफाइनलमा एपिएफले आर्मीमाथि बाजी मार्दा पहिलो र दोस्रो सेट समान २५–२२ ले आफ्नो बनाएको थियो। तेस्रो सेटको खेलमा आर्मीले सुरुआतबाट अग्रता लिए पनि अन्तिमतिर राम्रो प्रदर्शन गर्न नसक्दा एपिएफले रोमाञ्चक २६–२४ को स्कोर निकाल्दै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो। एपिएफले १४–१९ भएको अवस्थामा आर्मीलाई रोक्दै अगाडि बढेको थियो। यस्तै हेल्प नेपालले पुलिसको चुनौती समाप्त गर्ने क्रममा पहिलो सेट २५–२१, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१५ ले आफ्नो बनाएको थियो। भारतीय खेलाडी रहेको हेल्प नेपालले विभागीय टोली पुलिसलाई निरीह बनाएको हो। सेमिफाइलनमा पराजित टोलीद्वय त्रिभुवन आर्मी र नेपाल पुलिस तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबसँग उपाधिका लागि भिड्दा एपिएफले महिलातर्फ न्यु डायमन्डलाई प्रतिद्वन्द्वी पाएको छ।

प्रकाशित: १० माघ २०७६ ०१:४० शुक्रबार

खेलकुद_परिषद् च्याम्पियनसिप