खेल

थ्री स्टार तेस्रो स्थानमा उक्लियो

संजोग राई

काठमाडौं - हिमालयन शेर्पामाथि सहज जितका साथ थ्री स्टार क्लब राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ। बिहीबार दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा थ्री स्टारले हिमालयन शेर्पामाथि ३–१ को जित हात पारेको हो। यस जितपछि ८ खेलको समाप्तिमा १४ अंकका साथ थ्री स्टार तेस्रो स्थानमा उक्लिएको हो। ७ खेलमा १६ अंक जोडेको त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ भने ८ खेलमा समान १६ अंकका साथ मच्छिन्द्र क्लब दोस्रो स्थानमा छ। ७ खेलमा १३ अंकका साथ साबिकको मनाङ मर्स्याङ्दी चौथो स्थानमा छ भने १२ अंकका साथ जावलाखेल युथ क्लब पाँचाैँ स्थानमा उक्लिएको छ।

खेलको छैटाैँ मिनेटमा नै थ्री स्टारले स्ट्राइकर सुशील राईको गोलमा अग्रता लिएको थियो। सुशीलले स्ट्राइकर लाल राम्मावियाको पासलाई जाली चुमाएका थिए। ३३औं मिनेटमा थ्री स्टारले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो ।संजोग राईको क्रसमा वासुई हज्मतले गरेको हेड हिमायन शेर्पाका गोलकिपर किशोर गिरीले विफल पारेका थिए। पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा रक्षक स्टेफन सामिर ड्युबेनीले फ्रिकिकलाई पोस्टको दिशा दिँदै हिमालयन शेर्पालाई खेलमा फर्काएका थिए। तर हिमालयन शेर्पाले खेल बराबरीमा ल्याएको खुसीयाली धेरै समय टिकाउन सकेन। त्यसको एक मिनेटसमेत नबित्दै स्ट्राइकर संजोग राईले थ्री स्टारलाई पुनः अग्रता दिलाएका थिए।

पहिलो हाफबाटै हिमालयन शेर्पामाथि दबाब बनाएको थ्री स्टारले दोस्रो हाफमा पनि दबाब कायम राखेपनि एक गोल मात्र थप्न सक्यो। ५१औं मिनेटमा हज्मतलेक काउन्टर अट्याकमा थ्री स्टारको अग्रता ३–१ मा पु-याएका थिए। त्यसको ३ मिनेटपछि नै थ्री स्टारले अग्रता फराकिलो पार्ने अवसर पाएको थियो। तर सुशीलको क्रसमा संजोगले गरेको प्रहार हिमालयन शेर्पाका गोलकिपर किशोरले विफल पारेका थिए। ‘आजको खेलमा कुनै रौनक थिएन, खेल नीरस थियो। तर हामीलाई आफूहरु अझै उपाधि दौडका दाबेदार हाैँ भन्नका लागि पनि ३ अंक आवश्यक थियो। जसमा हामी सफल भयौं,’ थ्री स्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘टोलीले अझै एक रूपको प्रदर्शन गर्न सकिरहेको छैन। यो हाम्रो क्लबको मात्र नभई नेपाली फुटबलमै चल्दै आएको चलन हो। हामी विपक्षी टोली कस्तो छ त्यहीअनुसारको प्रदर्शन गछौँ। युवा टोली छ, त्यसैले सुदृढ प्रदर्शनका लागि केही समय लाग्न सक्छ।’

यता हिमालयन शेर्पाका प्रशिक्षक सञ्जीव बुढाथोकीले भने खेलाडीहरूले टोली रणनीतिभन्दा बाहिर गएर प्रदर्शन गर्दा हार्नु परेको प्रतिक्रिया दिए ,‘हाम्रो टोलीको रणनीति भनेको रक्षात्मक खेल्ने र काउन्टरमा गोल गर्ने थियो तर खेलाडीले आफुखुसी प्रदर्शन गरे,’ बुढाथोकीले भने, ‘हामीले थ्री स्टारलाई धेरैभन्दा धेरै स्पेस दिएर खेल्यौं। त्यौ नेै हारको प्रमुख कारण हो। सायद पछिल्लो खेलमा बलियो टोली मच्छिन्द्रमाथिको जितपछि खेलाडीहरू बढी आत्मविश्वासी र उत्साही भएको हुनुपर्छ।’ लिगअन्तर्गत बिहीबार दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको जावलाखेलले एपिएफलाई १–० ले हराउँदै पाँचाैँ स्थानमा उक्लिएको हो।

७१ औं मिनेटमा फोडे  फोफानाले गरेको गोल जावलाखेललाई स्पष्ट ३ अंक जोड्न पर्याप्त बन्यो। यसका साथै जावलाखेलले पछिल्ला दुई खेलमा व्यहोरेको हारको शृंखलामा पनि पूर्णविराम लगाएको छ। हारपछि ८ खेलमा मात्र ५ अंक जोडेको एपिएफ १३ औ स्थानमा यथावत छ। यसअघि ५७ औं मिनेटमा गोलकिपर टिकेन्द्र थापा रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि जावलाखेलले अन्तिम ३३ मिनेटको खेल १० खेलाडीमा सीमित हुँदै खेलेको थियो। पेनाल्टी बक्सबाहिर हातले बल नियन्त्रणमा लिएपछि थापा रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएका थिए।

आजको खेल
मनाङ मर्स्याङ्दीविरुद्ध सरस्वती युथ क्लब १२ः०० बजे
फ्रेन्डस् क्लबविरुद्ध बिबिसी ३ः०० बजे
दशरथ रंगशाला

प्रकाशित: १० माघ २०७६ ०१:२३ शुक्रबार

दशरथ_रंगशाला कतार_एयरवेज