खेल

पुरुषतर्फ सेमिफाइनल समीकरण पूूरा

बुलबुल राराविरुद्ध बल प्लेसिङ गर्दै हेल्प नेपालका अमित। तस्बिर : नागरिक

काठमाडौं – राजधानीमा जारी पाँचौं आरबिबी पुरुष/महिला क्लब च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको खेलमा बुधबार सेमिफाइलन समीकरण पूरा भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा  विभागीय टोलीत्रय एपिएफ, आर्मी र पुलिसले जित निकाल्दा हेल्प नेपालले पनि अन्तिम चारमा स्थान बनाएको छ। प्रतियोगिताअन्तर्गत बुधबार भएको दिनको पहिलो क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबले मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको हो।  दिनको दोस्रो क्वार्टरफाइनल खेलमा बुद्ध टोललाई  पनि सोझो सेटमा हराएको अर्को विभागीय टोली एपिएफले अन्तिम चारमा आर्मीसँगको भेट पक्का गरेको हो। आर्मीले सहज जित निकाल्ने क्रममा मणिमुकुन्दमाथि २५–१९, २५–१८ र २५–१७ को स्कोर गरेको हो। आर्मीले सुरुआती सेटबाट नै मणिमुकुन्दलाई दबाबमा राख्दै खेल आफ्नो पक्षमा पारेको थियो। यसअघि आर्मी समूह ‘ए’ बाट समूह विजेता र एपिएफ  समूह ‘बी’ को समूहविजेता बन्दै अन्तिम आठमा प्रवेश गरेका थिए।

यस्ते आर्मीसँग भेट पक्का गर्ने क्रममा एपिएफले बुद्धटोललाई  ३–० को सोझो सेटमा स्तब्ध पारेको हो। पहिलो सेटमा २५–१८ को सहज जित निकालेको एपिएफले दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–११ को सहज जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। पुरुष क्वार्टरफाइलन अन्तर्गत बुधबार सम्पन्न दिनको अर्को खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले नयाँ बजार सामाजिक युवा क्लबलाई पनि सोझो सेटमा नै स्तब्ध पार्दै अन्तिम चारमा स्थान बनायो। २५–११ को पहिलो सेटमा जित निकालेको पुलिसले त्यसपछिका सेटमा २५–१० र २५–१२ को सहजत जित निकालेको थियो। अब पुलिसले फाइलन प्रवेशका लागि हेल्प नेपाल स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पुलिस पनि समूह ‘सी’ को विजेताका रूपमा अन्तिम आठमा प्रवेश गरेको थियो। यस्तै समूह ‘डी’ मा एक खेलमा जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेको हेल्प नेपालले पुलिससँग भेट पक्का गर्दा बुलबुल रारा क्लबलाई २५–१६, २५–२० र २५–१९ले पराजित गरेको हो।

प्रतियोगितामा बिहीबार दुबै महिला र पुरुषतर्फका सेमिफाइनल खेल हुनेछन्। पुरुषतर्फ पहिलो सेमिफाइनलमा आर्मीले एपिएफको सामना गर्दा अर्को सेमिफाइनलमा पुलिसले हेल्प नेपालको सामना गर्नेछ। महिलातर्फ भने पहिलो सेमिफाइनल एपिएफ र पुलिसबीच हुँदा दोस्रो सेमिफाइनल होङ्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र आर्मीबीच हुनेछ। विभागीय टोलीत्रय एपिएफ, आर्मी र पुलिसले जित निकाल्दा हेल्प नेपालले पनि अन्तिम चारमा स्थान बनाएको छ ।

प्रकाशित: ९ माघ २०७६ ०१:३५ बिहीबार

एपिएफ आर्मी