खेल

पुलिसमाथि न्यु डायमण्डको संघर्षपूर्ण जित

न्यु डायमण्ड स्पोट्स क्लवकी प्रतिभा माली (कालो) को स्पाइक ब्लक गर्ने प्रयासमा नेपाल पुलिस क्लवकी पुनम चन्द र कोपिला उप्रेती ।

काठमाडौं – होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले पाँचौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा जित निकालेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) को कर्भडहलमा भएको महिलातर्फको एक मात्र खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई स्तब्ध बनाउँदै विजयी सुरुआत गरेको हो। निकै प्रतिस्पर्धात्मक समूह ‘बी’ को खेलमा न्यु डायमण्डले पुलिसमाथि ३–२ को कठिन जित निकालेको हो। यता, शुक्रबार नै सुरु पुरुष तर्फका खेलमा विभागीय टोलीद्वय त्रिभुवन आर्मी र एपिएफ क्लबले विजयी सुरुआत गरेका छन्।

आर्मीले आरजी गु्रप र एपिएफले बुलबुले रारा क्लबलाई हराएको थियो। दिनको पहिलो खेलमा समूह ‘ए’ को आर्मीले आरजी ग्रुपलाई २५–९, २५–१६ र २५–९ को सोझो सेटमा पराजित ग-यो। जितसँगै तीन टोली रहेको समूहमा आर्मीले क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। जितसँगै आर्मीले पहिलो खेलबाट २ अंक जोडेको छ। दोस्रो खेलमा एपिएफले रारा बुलबुले क्लबमाथि ३–१ को सेटमा जित निकाल्यो।

पहिलो सेट गुमाए पनि एपिएफले उत्कृष्ट पुनरागन गर्दै जित निकाल्यो। एपिएफले पहिलो सेट २५–२३ ले गुमाएको थियो। तर, त्यस पछिका तीन सेट २५–१२, २५–२० र २५–१८ ले जित्दै समूह ‘बी’ को एपिएफले क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। पुरुषतर्फ नै समूह ‘सी’ पनि तीन टोली रहँदा दुई टोली मात्र रहेको समूह ‘डी’का क्वार्टरफाइनल स्थान पक्का गरिसकेका छन्। समूह ‘डी’ को बुद्ध टोल भलिबल क्लब र हेल्प नेपालले समूह विजेताका लागि मात्र खेल्नेछन्।

लिगअन्तर्गत शुक्रबारै सम्पन्न महिला तर्फको खेलमा पुलिसले न्यु डायमण्डसँग दुई पटक सेटमा अग्रता बनाए पनि सदुपयोग गर्न सकेन। रोमान्चक खेलमा न्यु डायमण्डले पहिलो सेट २५–१७ ले पुलिसलाई सुम्पिएको थियो। दोस्रो सेटमा सुरुआतबाट नै अग्रता लिएको डायमन्डले २५–१८ को जित निकाल्दा सेटमा बराबरीमा ल्यायो। तथापी तेस्रो सेट २५–२३ ले गुमाएपछि न्यु डायमण्ड पुलिससँग २–१ ले पछिप-यो।

तर न्यु डायमण्डले चौथो सेट २५–१७ ले आफ्नो बनाउँदा खेल निर्णयका लागि पाँचौं सेटतर्फ धकेलिएको थियो। निर्णायक सेटमा पनि न्यु डायमण्डले १५–११ को संघर्षपूर्ण जित निकाल्दै पुलिसलाई स्तब्ध बन्न बाध्य बनायो। जितसँगै समूह ‘बी’ को न्यु डायमण्डले महत्वपूर्ण २ अंक जोडेको छ। शुक्रबार सम्पन्न महिलातर्फको एक मात्र खेलमा नेपाल पुलिस क्लबलाई स्तब्ध बनाउँदै न्यु डायमण्ड प्रतियोगितामा विजयी सुरुआत गर्न सफल भयो। निकै प्रतिस्पर्धात्मक खेलमा समूह ‘बी’ को टोली न्यु डायमण्डले पुलिसमाथि ३–२ को कठिन जित निकालेको हो।

प्रकाशित: ४ माघ २०७६ ०२:१४ शनिबार

च्याम्पियनसिप खेलकुद_परिषद