खेल

मञ्जु र विनिता फाइनलमा

काठमाडौं -  राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको महिला ६५ केजीमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा मञ्जुले एपिएफकी मनीषा राउत तथा विनिताले मेन डोजोकी रविना तामाङलाई पराजित गरे। महिला खुला तौलसमूहमा एपिएफकी जयन्ती श्रेष्ठले मेन डोजोकी पुनम कर्माचार्य तथा आर्मीकी विन्दु पुनले सो क्योकुसिनकी सुमी श्रेष्ठलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरे। महिला ६० केजीमा एपिएफकी निशा विकले मकवानपुरकी रेश्मा माझीलाई तथा मेन डोजोकी सुस्मिता शाहीले प्रिया वाइबालाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरे।

महिला ५० केजीमा आइकेकेएफकी करिश्मा कार्कीले आर्मीकी रुबिका खड्कालाई तथा एपिएफकी सञ्जुमाया थिङले आर्मीकी शान्ति थापामगरलाई पन्छ्याउँदै फाइनल यात्रा तय गरे। महिला ५५ केजीमा एपिएफकी विद्या गुरुङले आर्मीकी अनुपमा नेपाली तथा आर्मीकी रिना धिमालले नेपाल प्रहरीकी रिता ठकुल्लाको चुनौती पन्छ्याउँदै फाइनलमा स्थान बनाए।

वर्षाका कारण शुक्रबारका सम्पूर्ण खेलहरू सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा खेलाइएको थियो। पहिलो दिनको खेल निर्धारित स्थान ललितपुरको चापागाउँस्थित प्याङगाउँ चौरमा भएको थियो। तेस्रो तथा अन्तिम दिनको खेल प्याङगाउँमै खेलाइने प्रतियोगिता संयोजक राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले जनाएका छन्।

प्रतियोगितामा पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार र तेस्रो हुने दुई खेलाडीले समान ८ हजार नगद पुरस्कार पाउनेछन्। टिममा पहिलो हुनेलाई १ लाख र दोस्रो हुनेलाई ५० हजार नगदबाट पुरस्कृत गरिनेछ। उत्कृष्ट पुरुष-महिला खेलाडीले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन्।

प्रकाशित: ४ माघ २०७६ ०२:०० शनिबार

बक्सिङ प्रतियोगिता खेलकुद