खेल

हिमालयन शेर्पासँग मच्छिन्द्र स्तब्ध

हिमालयन शेर्पा क्लवविरूद्ध बल अगाडि बढाउदै मछिन्द्र क्लवका सुजल श्रेष्ठ (बीच)

काठमाडौं – उपाधि दाबेदारका रूपमा हेरिएको मच्छिन्द्र क्लबको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित यात्रा सातौं खेलमा पूर्णविराम लागेको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा शुक्रबार भएको खेलमा हिमालयन शेर्पा क्लबसँग २–० ले स्तब्ध भएसँगै यस सिजनमा मच्छिन्द्रको अपराजित यात्रामा पूर्णविराम लागेको हो। दशरथ रंगशालामा खेलाउने तय भए पनि लगातार वर्षाका कारण एन्फा कम्प्लेक्समा सञ्चालित खेलमा हिमालयन सुरुआती २० मिनेटभित्र लिएको दुई गोलको अग्रता जोगाउँदै बलियो टोली मच्छिन्द्रविरुद्ध तीन अंक जोड्न सफल भयो। यससँगै हिमालयन शेर्पाले जारी लिगमा पहिलो जित निकालेको छ।

सातौं चरणमा मात्र जित निकालेको हिमालयनले मच्छिन्द्रका रक्षक पिटर सेगुनको दोस्रो मिनेटमा नै उपहार गोलबाट अग्रता लियो। हिमालयनले २०औं मिनेटमा विजयी श्रेष्ठको हेडर गोलबाट अग्रता दोब्बर बनाउँदा सोही नतिजालाई जोगायो। सुरुआती ६ खेलमा अपराजित मच्छिन्द्रको यात्रामा पूर्णविराम लाग्दा विनोद गुरुङले मैदानको बायाँ तर्फबाट पेनाल्टी बक्सभित्र गरेको क्रस पिटरको टाउकोमा लागेर गोलमा परिणत भएको थियो।

सोही गोलबाट अग्रता बनाएको हिमालयनले छिट्टै नै अर्को गोल थप्दै मच्छिन्द्रमाथि दबाब सिर्जना ग-यो। निरज बस्नेतले २०औं मिनेटमा मैदानको बीचभागबाट प्रहार गरेका फ्रिकिकलाई ६ यार्डनजिबाट विजय श्रेष्ठले हेडरमार्फत जाली चुमाउँदा हिमालयनले अग्रता दोब्बर पारेको थियो। त्यसपछि स्टार खेलाडीले भरिएको मच्छिन्द्रले पहिलो हाफमा पुनरागमनका लागि निकै प्रयास ग-यो। तर निकै आत्मविश्वासी बनेको हिमालयन शेर्पाको रक्षापंक्तिलाई मच्छिन्द्रले पार गर्न सकेन।

दोस्रो हाफमा पनि मच्छिन्द्र खेलमा फर्किन सकेन र हिमालयनलाई नतिजा सुम्पिन बाध्य बन्यो। यस सँगै जारी लिग थप रोमाञ्चक भएको छ। सातौं चरणका खेल सुरु हुँदा उपाधि होड रोमाञ्चक बन्ने देखिएको छ। जारी लिगमा पहिलो जित निकालेको हिमालयनले पुलिससँग बराबरी खेल्दै लिगको सुरुआत गरेको थियो। दोस्रो खेलमा पनि हिमालयनले अर्को विभागीय टोली एपिएफसँग १–१ बराबरी नतिजा निकाल्दा अपराजित यात्रालाई निरन्तरता दियो।

तेस्रो खेलमा पनि हिमालयनले तेस्रो विभागीय टोली त्रिभुवन आर्मीसँग २–० को नतिजा सुम्पियो। चौथो खेलमा ब्रिगेड ब्वाइजसँग १–० ले स्तब्ध हिमालयनले पाँचौं खेलमा फेरन्डस क्लबसँग गोलरहित बराबरी सामना ग-यो। हिमालयनले छैटौं खेलमा साबिक विजेता मनाङ मर्स्याङ्दी क्लबसँग बराबरी नतिजा निकाल्दै लिगमा आफू पनि बलियो टोली रहेको साबित ग-यो। यस सिजनको लिगको सुरुआती ६ खेलमा जितविहीन हिमालयन शेर्पाले सातौं खेलमा विजयी रेखा कोर्दा शीर्ष स्थानको मच्छिन्द्रलाई पहिलो हार चखाउन सफल भयो।

जितसँगै सात खेलबाट ७ अंक जोड्दै हिमालयन शेर्पा १३औं स्थानबाट १०औं स्थानमा उक्लिएको छ। पराजित मच्छिन्द्र समान ७ खेलबाट समान १३ अंकसहित दोस्रो स्थानमा छ। एक खेल कम खेलेको आर्मी समान १३ अंकसहित शीर्षमा र १२ अंक जोडेको मनाङ तेस्रो स्थानमा छ। यस सिजनको लिगका सुरुआती ६ खेलमा जितविहीन हिमालयन शेर्पाले सातौं खेलमा विजयी रेखा कोर्दा शीर्ष स्थानको मच्छिन्द्रलाई पहिलो हार चखाउन सफल भयो।

सहिद स्मारक ‘ए’ डिभिजन लिग
आजका खेल (दशरथ रंगशाला)
जावलाखेलविरुद्ध नेपाल पुलिस    १२ः०० बजे
मनाङ मर्स्याङ्दीविरुद्ध थ्री स्टार    १५ः०० बजे

प्रकाशित: ४ माघ २०७६ ०१:१५ शनिबार

मच्छिन्द्र_क्लब एन्फा