खेल

ज्ञानोदयलाई सफलता

म्यान अफ द म्याच कृष्ण भुसाललाई पुरस्कृत गरिँदै ।

भैरहवा - ज्ञानोदय क्रिकेट क्लबले भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा जित निकालेको छ।

शनिबार भएको खेलमा बुटवल युथ स्पोर्ट्सलाई ६ विकेटले पराजित गर्दै ज्ञानोदय क्रिकेट क्लबले जित निकालेको हो। निर्धारित ५० ओभरमा १ सय ५ रनको झीनो लक्ष्य पछ्याएको ज्ञानोदयले २३ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा ग-यो। ज्ञानोदयका सरोज भुसालले २६ रन, कृष्ण भुसालले अविजित २३ रन र क्षितिज गैरेले १५ रन जोड्न सफल भए।बुटवलको बलिङमा विनीत पौडेलले २ विकेट लिँदा आरिफ शेख र अजय चौधरीले समान १/१ विकेट निकाले।

टस जितेर पहिले ब्याटिङ गरेको बुटवल युथ स्पोर्ट्स २४.२ ओभरमा १ सय ४ रनमै समेटियो। बुटवल युथ स्पोर्ट्सका कृष्ण गिरीले ३८ र विनीत पौडेलले १६ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। ज्ञानोदयका कृष्ण भुसालले ३ विकेट लिँदा अशोक मौर्य र विवेक यादवले २/२ विकेट निकाले। सरोज भुसालको नाममा एक विकेट रह्यो।

ज्ञानोदयका कृष्ण भुसाल म्यान अफ दी म्याच घोषित भएको आयोजक रूपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए। उनलाई प्रशिक्षक जंगबहादुर थापाले पुरस्कृत गरे।आइतबारको खेल गोलपार्क क्रिकेट क्लब बुटवल र जितगढी क्रिकेट क्लब बेलबासबीच हुनेछ। वि.सं.२०५४ सालदेखि निरन्तर भैरहवास्थित सिद्धार्थ रंगशालामा आयोजना हुँदै आएको प्रतियोगिता यस वर्ष चौथो पटक नेपाल टेलिकमको प्रायोजनमा हुँदै छ।

रूपन्देही क्रिकेट संघको आयोजनामा माघ १८ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका २० क्लब प्रतिस्पर्धा गर्दैछन्। १२ क्लबले डिभिजन ‘बी’ का लागि खेल्नेछन्। जसबाट उत्कृष्ट चार क्लब डिभिजन ‘ए’ मा पुग्नेछन्। डिभिजन ‘ए’ अन्तर्गत आठ क्लब र ‘बी’ बाट आएको चार क्लब गरी १२ क्लबबीच रूपन्देही सुपर लिग प्रतियोगिता हुने रूपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए।

प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ४० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा विधागत उत्कृष्ट अन्तर्गत ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रकाशित: २७ पुस २०७६ ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App