खेल

दोस्रो मनमोहन क्रिकेट प्रतियोगिता, एपिएफको जित


इटहरी,  विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब, सुनसरीको इनरुवामा जारी दोस्रो मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा विजयी भएको छ ।

एपिएफले सोमबार स्थानीय मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवालाई ८३ रनले पराजित गरेको हो । जितका बावजुद पनि एपिएफको सेमिफाइनल सम्भावना कमजोर रहेको छ । मंगलबार हुने खेलमा इनरुवाले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेमा एपिएफ र आर्मीमध्ये नेटरनरेटमा अघि हुने टोली सेमिफाइनल प्रवेश गर्नेछ । इनरुवा क्रिकेट मैदानमा भएको खेलमा एपिएफले पहिले ब्याटिङ गर्दै २ सय ४ रन बनायो । जबाफी ब्याटिङ गरेको इनरुवाले ३६.२ ओभरमा १ सय २१ रन मात्र बनाउन सक्यो । इनरुवाको ब्याटिङमा रवि रोयले सर्वाधिक २६, रूपेश श्रीवास्तवले २३ तथा विवेक मेहताले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपिएफको बलिङमा देब्रेहाते स्पिनर सूर्य तामाङले सर्वाधिक ४ विकेट लिए । त्यस क्रममा ८.२ ओभरमा २ मेडन राख्दै २५ रन खर्चिए ।  यस्तै कप्तान वसन्त रेग्मीले ३ विकेट लिन ७ ओभरमा १ मेडन राख्दै मात्र १० रन खर्चिए । यज्ञमान कुमालले २ तथा अमरसिंह रौटेलाले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको एपिएफले ४३.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । एपिएफका लागि सुमित महर्जनले सर्वाधिक ८३ रन बनाए । उनले सो क्रममा १ सय ७ बल खेल्दै ७ चौका प्रहार गरे ।  शंकर रानाले ३६, प्रदीप ऐरीले १९ तथा सन्दीप जोरा र वसन्त रेग्मीले  समान १२ रन बनाए । प्रतियोगितामा इनरुवाका तर्फबाट अफ स्पिनर सरोज बस्नेतले सर्वाधिक ४ विकेट लिए । उनले ९ ओभरमा १ मेडन राख्दै ३९ रन खर्चिए । यस्तै भूपाल लुइँटेल, सोनु मण्डल र अल्फाज मन्सुरीले समान  २ विकेट लिए ।
 

प्रकाशित: २२ पुस २०७६ ०२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App