खेल

युनाइटेडको फेरि खराब प्रदर्शन

लन्डन – खराब प्रदर्शनबाट गुज्रिरहेको म्यानचेस्टर युनाइटेड तेस्रो चरणमा उल्भरह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको दिन एफए कपको साबिक विजेता म्यानचेस्टर सिटीले भने शनिबार पोर्ट भालेमाथि ४–१ को सहज जित हात पारेको छ।

ओले गनर सोल्सजायरको टोलीले खेलअवधिभर एक पटक पनि उल्भरह्याम्पटनको पोस्टमा सम्झनलायक सट प्रहार गरेन। बुधबार मात्र इङ्लिस प्रिमियर लिगमा आर्सनलसँग २–० ले निराश भएको युनाइटेडले जनवरीको अन्तिममा उल्भरह्याम्पटनविरुद्ध घरेलु मैदानमा  रिप्ले खेल्नेछ।

‘म रिप्ले खेल्न पाएकोमा खुसी छु,’ सोल्सजायरले भने, ‘हामी दुवै टोली अझै प्रतियोगितामा बाँकी छौं। उल्भरह्याम्पटनको घरेलु मैदानमा खेल्न सधैं कठिन हुन्छ। उनीहरूले गोलका धेरै अवसर पाए। गोलकिपर सर्जियो रोमेरोले धेरै उत्कृष्ट बचाउ गरे। उनले टोलीमा डेविड डी हियामाथि चुनौती दिइरहेका छन् र हामीले पनि त्यही हेर्न चाहेका थियौं।

मंगलबार म्यानचेस्टर सिटीविरुद्ध हुने इङ्लिस लिग कपको सेमिफाइनलाई ध्यानमा राख्दै सोल्सजायरले आर्सनलविरुद्ध उतारेको टोलीमा ७ खेलाडी परिवर्तन गरे। गत सिजन पनि युनाइटेड एफए कपको क्वार्टरफाइनलमा उल्भरह्याम्पटनसँगै पराजित हँुदै प्रतियोगिताबाट बाहिरिएको थियो। म्याट डोहेर्टीको प्रहार रोमेरोले विफल पार्दै यस पटक भने युनाइटेडको संकट टारेका थिए।

वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मार्कुस रसफोर्डले गरेको प्रहार बारमा लागेर फर्किंदा युनाइटेड निराश बनेको थियो। तर खेलको अन्त्यतिर राउल जिमिनेजको प्रहार पोस्टमा लाग्दा पुनः एक पटक युनाइटेडको संकट टरेको थियो। सोल्सजायरको टोलीले सबैखाले प्रतियोगिता गरी पछिल्ला ५ खेलमा २ मा मात्र सुखद नतिजा ल्याएको छ।
यता इत्तिहाद रंगशालामा भएको खेलमा सिटीका प्रशिक्षकले पनि सात खेलाडी परिवर्तन गरेका थिए।

१९औं मिनेटमा अलेकजेन्डर जिन्चेकोको गोलमा सिटीले खाता खोलेको थियो। ३५औं मिनेटमा टम पोपले पोर्ट भालेलाई खेलमा फर्काएका थिए। त्यसको ८ मिनेटपछि सर्जियो अग्विरोले बललाई जाली चुमाउँदै सिटीलाई पुनः खेलमा अघि बढाएका थिए। ५८औं मिनेटमा टेलर हार्वड बेलिसले सिटीका लागि तेस्रो गोल गरे। ७८औं मिनेटमा फिल फोडिनले बललाई पोस्टका दिशा दिँदा सिटी ४–१ को सहज जितका साथ अघिल्लो चरण प्रवेश गरेको हो।

‘हामी सहज जितका साथ अघिल्लो चरण प्रवेश गरेका छौं। हामीले राम्रो खेल्यौं। पहिलो हाफमा ठीकै खेल्यौं, दोस्रो हाफमा उत्कृष्ट,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने। त्यस्तै लेस्टर सिटी पनि विगान एथ्लेटिकमाथि २–० को जितका साथ अघिल्लो चरण प्रवेश गर्दा फुलह्यामले एस्टन भिल्लालाई २–१ ले हरायो। साउथह्याम्पटनले हडर्सफिल्ड टाउनलाई २–० ले हरायो।

प्रकाशित: २१ पुस २०७६ ०१:२० सोमबार

म्यानचेस्टर_युनाइटेड एफए_कप