खेल

चट्याङमा परी ज्यान गुमाएका नेताको स्मृतिमा खेलकुद प्रतियोगीता

खोटाङ– खोटाङमा चट्याङ लाग्दा ज्यान गुमाएका एक नेताको स्मृतिमा खुला वडास्तरिय भलिबल तथा डबल ब्याडमिन्टन प्रतियोगीताको तयारी गरिएको छ। चट्याङ लाग्दा २०७० साल असोज ७ गते राति ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ढकमसेर राईको स्मृतिमा आगामी पुस २६ गतेदेखि २९ गतेसम्म खुला वडास्तरिय भलिबल तथा डबल ब्याडमिन्टन प्रतियोगीता गर्न लागिएको हो।

तत्कालिन संघीय समाजवादीका जिल्ला उपाध्यक्ष रहेका राईको स्मृतिमा बनाइएको ढकमसेर स्मृति प्रतिष्ठानले आईतबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर खुला वडास्तरिय भलिबल तथा डबल ब्याडमिन्टन प्रतियोगीताको तयारी बारे जानकारी दिएको छ। पाथेकास्थित सरस्वती माविको प्रांगणमा हुने प्रतियोगीतामा भलिबलका प्रथम, दोश्रो र तेश्रो हुने टिमलाई क्रमशः ५१ हजार १ सय ११ रुपैयाँ, ४१ हजार १ सय ११ रुपैयाँ र ३१ हजार १ सय ११ रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने ढकमसेर स्मृति प्रतिष्ठानका अध्यक्ष अग्नीप्रसाद राईले बताए। यस्तै, खुला ब्याडमिन्टन प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो हुने टिमले क्रमशः ८ हजार १ सय ११ रुपैयाँ, ६ हजार १ सय ११ रुपैयाँ र ४ हजार १ सय ११ रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सर्वधन राईले बताए। विभिन्न देशमा रहेका दाता तथा संघसंस्थाबाट पुरस्कार प्रायोजन गरेर खेलकुद प्रतियोगीताको तयारी गरिएको हो।

सोही अवसरमा लोकदोहोरी प्रतियोगीताकोसमेत आयोजना गरिएको ढकमसेर स्मृति प्रतिष्ठानले जनाएको छ। लोक दोहोरीमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने समूहलाई क्रमशः १० हजार १ सय ११ रुपैयाँ, ८ हजार १ सय ११ रुपैयाँ र ६ हजार १ सय ११ रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने ढकमसेर स्मृति प्रतिष्ठानले जनाएको छ।

समाजसेवामा सक्रिया राईको स्मृतिका लागि गत असोज ८ गते ११ सदस्यीय स्मृति प्रतिष्ठानको तदर्थ समिति गठन गरिएको थियो। चट्याङ पर्दा ढकमसेर र बाबु महन्तबहादुर राईको सँगै मृत्यु भएको थियो।

प्रकाशित: २० पुस २०७६ ०९:०२ आइतबार

खेलकुद प्रतियोगीता स्मृति