खेल

लाबुसेनको दोहोरो शतक

सिड्नी – मार्नस लाबुसेनको दोहोरो शतकप्रेरित अस्ट्रेलियाको तेस्रो टेस्टको पहिलो इनिङमा ४ सय ५४ रनपश्चात् न्युजिल्यान्डले पनि शनिबार राम्रो सुरुआत गरेको छ। सिड्नीमा जारी टेस्टमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका लाबुसेनले करियरको उत्कृष्ट प्रदर्शन गर्दै २ सय १५ रन बनाएको इनिङमा अस्ट्रेलिया दोस्रो दिनको चिया सत्रअघि अलआउट भएको थियो। जबाफमा ब्याटिङ गर्न आएको न्युजिल्यान्डले पनि सुखद सुरुआत गर्दा ६३ रनमा बिनाविकेट दोस्रो दिनको अन्त्य गरेको छ। ओपनरद्वय टम लाथम २६  र मेलबर्न टेस्टका शतकधारी टम ब्लन्डेल ३४ रनमा नटआउट छन्।


यद्यपि, निकै तातो मौसममा भइरहेको खेलमा घरेलु टोली अस्ट्रेलियाले दुई पटक विकेटको सम्भावना बनाएको थियो। नाथन लियोनले एलबिडब्लु र प्याट कमिन्सले क्याचआउटको सम्भावना बनाएका थिए। यता, न्युजिल्यान्डका ओपनरद्वयले दोस्रो दिन घरेलु बलरको चुनौती सहज रोके। दोस्रो दिन लाबुसेनका लागि विशेष बन्यो। उनी २० मिनेटसम्म १ सय ९९ रनमा रहँदा खेलले थप रोमाञ्चकता प्रदान गरेको थियो। यद्यपि, लाबुसेनले अवसरको सदुपयोग गर्दै दोहोरो शतक हिर्काए।

उनले ३ सय ६३ बल खेल्दा एक मात्र छक्कासहित १९ चौका हिर्काएका थिए। लाबुसेनले गत वर्षको नोभेम्बरमा पाकिस्तानविरुद्ध खेलेको १ सय ८५ रनको उत्कृष्ट प्रदर्शनमा समेत सुधार गरे। ‘उनीहरूले दिनको समाप्तिसम्म राम्रो ब्याटिङ गरे। हामीले पनि राम्रै बलिङ गरेका छौं,’ लाबुसेनले भने, ‘विकेटका लागि नजिकै पुगेर पनि चुकेका छौं। आइतबार हाम्रो मिहिनतले राम्रो फल पाउनेमा आशावादी छौं।’ साथै लाबुसेनले टोलीका लागि राम्रो प्रदर्शन गर्दा निकै खुसी भएको प्रतिक्रिया दिएका छन्।

‘अस्ट्रेलियाको लागि खेल्न पाउनु निकै खुसीको क्षण हो। साथै आज टोलीका लागि पनि रन बटुल्न सकेँ। टोलीका लागि जब राम्रो ब्याटिङ गर्न सकिन्छ। त्यो निकै खुसीको क्षण हुने रहेछ,’ लाबुसेनले भने। पछिल्ला समय उत्कृष्ट लयमा रहेका लाबुसेनले नोभेम्बरयता कुल ८ सय ३७ रन बटुलेका छन्। यो नतिजासँगै उनी पाँच टेस्टमै सर्वाधिक रन बटुल्ने अस्ट्रेलियाका नेल हार्भे (८ सय ३४ रन) लाई पछि पार्न सफल भएका छन्। उनले गत वर्ष १ हजार १ सय ४ रन बटुले।

न्युजिल्यान्डका लेग स्पिनर तोड एसलको बलमा क्याच आउट भएपछि लाबुसेनको इनिङ सकिएको थियो। कप्तान टिम पाइनेले लाबुसेनलाई दोहोरो शतक बनाउने क्रममा साथ दिएका थिए। यद्यपि, पाइने ३५ रनमा छैटौं विकेटका रूपमा कोलिन डी ग्रान्डहोमद्वारा आउट भए। यस क्रममा पाइनले लाबुसेनसँग मिलेर ७९ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई ४ सय रन पार गराएका थिए।

चिया सत्रअगाडि अस्ट्रेलियाले लगातार विकेट गुमाउँदा जेम्स प्याटिन्सन २ रन र प्याट कमिन्स ८ रनमा आउट हुँदा मिचेल स्टार्क २२ रन बनाएर पवेलियन फर्किए। मेलबर्न टेस्टमा शतक प्रहार गरेका ट्राभिस हेड पनि १० रनमै पवेलियन फर्किएका थिए। उनी म्याट हेनरीको बलमा विकेटकिपर बिजे वाटलिङद्वारा क्याच भए। अस्ट्रेलियाका जंगलमा विनाशकारी भीषण आगलागी भइरहेको समयमा सिड्नी टेस्ट पनि साक्षी बनेको छ। कप्तान टिम पाइनले लाबुसेनसँग मिलेर ७९ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई ४ सय रन पार गराएका थिए।

प्रकाशित: २० पुस २०७६ ०४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App