खेल

शुक्लागण्डकीलाई ल्होसार कप

दुलेगौँडा – तनहुँको भ्याली युथ क्लबद्वारा आयोजित ल्होसार कप सेभेन ए साइड फुटबलको उपाधि शुक्लागण्डकी युवा क्लब दुलेगौँडाले जितेको छ। शुक्लागण्डकी नगरपालिका–९ मालेबगर खेलमैदानमा मंगलबार भएको फाइनलमा शुक्लागण्डकीले शिलादेवी युवा क्लब हलेदीलाई ५–० ले  हराउँदै उपाधि जितेको हो।

पहिलो हाफको २३औँ मिनेटमा शुक्लागण्डकीका  किसान गुरुङले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। खेलको ५४ र ५५ मिनेटमा सुमित श्रेष्ठले गोल गरे। ५८ र ५९औं मिनेटमा सरोज तामाङले गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए। उपाधि विजेता शुक्लागण्डकीले  नगद ७१ हजार रुपैयाँ र  उपविजेताले ४१ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र हात पारे।

सर्वाधिक गोलकर्ता शिलादेवीका सुरज थापा र ब्रदर्श एफसीका विजय थापा घोषित भए। दुवै जनाले खेलअवधिभर समान ३ गोल गरेका थिए। उत्कृष्ट खेलाडी र गोलरक्षक शुक्लागण्डकीका सुमित श्रेष्ठ र रोमन थापा बने। उनीहरूलाई दुई हजार पाँच सय रुपैयाँको साथमा ट्रफी र  प्रमाणपत्र प्रदान गरिएको छ। गत बुधबारदेखि सुरु प्रतियोगितामा तनहुँ, कास्की र स्याङ्जाका २५ टिमले सहभागिता जनाएका थिए।

प्रकाशित: १६ पुस २०७६ ०३:४६ बुधबार

ल्होसार_कप फुटबल