खेल

पदक बिजेता खेलाडी सम्मानित

सिन्धुपाल्चोक- दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा पदक बिजेता गाउँका दुई खेलाडीलाई लिसंखु पाखर गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ। गाउँपालिकाले बुधबार अत्तरपुरमा कार्यक्रम राखी उनीहरुलाई सम्मान गरेको हो।

सम्मानित हुनेमा खेलाडी काजल श्रेष्ठ र देवीका खड्का छन्। उनीहरुलाई जनही नगद ५० हजार रुपैयाँ पुरस्कार र सम्मानपत्र प्रदान गरिएको छ। दुबै स्वर्ण बिजेता हुन्। काजलले तेक्वान्दोमा स्वर्ण दिलाएकी थिइन् भने देवीकाले जुडोमा स्वर्ण नै जितेकी थिइन्। गाउँपालिका अध्यक्ष कमल नेपाल र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले खेलाडीद्धयलाई नगद र सम्मानपत्र प्रदान गरेका थिए।

अध्यक्ष नेपालले यस्ता सम्मानको कार्यक्रमले खेलाडीलाई हौसला दिने बताए। ‘खेलाडीहरुलाई हौस्याउन थप कार्यक्रम ल्याउँछौँ,’ पुरस्कार वितरणपछि उनले भने। सम्मानित खेलाडीद्धय काजल र देवीकाले स्वर्ण जितेपछि पहिलो पटक आफ्नो गाउँमा भव्य सम्मान पाउँदा खुसी मिलेको बताए।

कार्यक्रममा स्थानीयले समेत उनीहरुलाई स्वतस्र्फुत माला, खादा र अबिर टीकाले सम्मान गरेका थिए। दुबै खेलाडी लिसंखु पाखरकै हुन्।

प्रकाशित: ९ पुस २०७६ १३:११ बुधबार

पदक बिजेता खेलाडी