खेल

पोखरा लिग चरणबाटै बाहिर

पोखरा - डिफेन्डिङ च्याम्पियन पोखरा पल्टन नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को लिग चरणबाटै बाहिरिएको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा पोखरा एक्सपर्ट धनगढी ब्लुजसँग ५ विकेटले पराजित भएसँगै अंकतालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो।

सोमबार खेल जिते पनि धनगढीको पनि प्लेअफ खेल्ने सम्भावना न्यून छ। ३ खेलमा १ पराजय र २ जित निकालेको धनगढीको ४ अंक छ। १ खेल कम खेलेको काठमाडौंको पनि ४ अंक छ। तर नेट रनरेटमा काठमाडौं धेरै माथि छ। धनगढीको नेट रनरेट –१.०६९ छ भने काठमाडौंको १.३०१ छ। यसरी हेर्दा काठमाडौंले आफ्नो अन्तिम खेलमा चितवनसँग फराकिलो हार बेहोरे मात्रै धनगढीको गणितीय सम्भावना बाँकी रहन्छ।

प्लेअफ खेल्ने सम्भावना जीवित राख्नका लागि भएको खेलमा पोखराले बिर्सनलायक खेल खेल्यो। सोमबार टस जितेको पोखराले पहिलो ब्याटिङ रोज्यो। मौसम नखुलेर चिसिएको पिचमा पहिलो ब्याटिङ गर्ने पोखराको निर्णय गलत साबित भयो। ठूलो लक्ष्य पेस गरेर फराकिलो अन्तरले विजयी हुँदै ऋणात्मक रनरेटलाई धनात्मकमा बदल्ने पोखराको सपना त्यति बेला चकनाचूर भयो जति बेला पोखरा ७९ रनमा अलआउट भयो।

निर्धारित २० ओभरको खेलमा पोखराले १६.३ ओभरमा पूरै विकेट गुमाउँदै ७९ रन मात्र बनायो। पोखराका लागि आसिफ सेखले सर्वाधिक ३२ र विनोद भण्डारीले १२ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। पोखराका कुशल भुर्तेलले ६, क्याप्टेन शरद भेषावकर र सर्वजित लड्डाले अविजित ४÷४ रन बनाए भने प्राथमेश डेयक र कुशल मल्लले २÷२, कृष्ण कार्की र ललितनारायण राजवंशीले अविजित १÷१ रन बनाए। पोखराका रबिइन्दर सिंह र रोहित पौडेल खाता नै नखोली पवेलियन फर्किए।

पोखराको इनिङ धरापमा पार्ने क्रममा धनगढीका अनिल खरेलले ३ विकेट हत्याए। ४ ओभर बलिङ गरेका उनले १५ रन मात्र खर्चिए। त्यस्तै धनगढीका लागि दीपक पुनिया, कमलसिंह ऐरी र सागर ढकालले २/२ विकेट लिए।

८० रनको सामान्य लक्ष्य पाएको धनगढीले ९.१ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। धनगढीका लागि दीपक पुनियाले २५ रनको योगदान दिए। उनले १६ बलको सामना गर्दा १ छक्का र २ चौका हिर्काए। त्यस्तै रोड्रिगो थोमसले १० बलमा १५ रन बनाए भने कप्तान दीपेन्द्र्रसिंह ऐरीले १३, शुभेन्डु पाण्डेले ११, सन्दीप जोराले २ तथा मञ्जित श्रेष्ठले अविजित ९ र अमित यादवले अविजित ६ रनको योगदान दिए।

पोखराका प्राथमेश डेयक र सर्वजित लड्डाले २÷२ तथा ललितनारायण राजवंशीले १ विकेट लिए। सोमबारको खेलमा धनगढीका दीपक पुनिया प्लेयर अफ दी म्याच घोषित भए। उनलाई नेपाल टेलिकमको तर्फबाट नगद १० हजारसहित ट्रफी प्रदान गरिएको थियो।

प्रतियोगिताअन्तर्गत मंगलबार चितवन राइनोज र काठमाडौं गोल्डेन वारियर्सबीच प्रतिस्पर्धा हुनेछ। चितवन ४ खेल सकिँदा अपराजित रहँदै शीर्ष स्थानमा छ भने काठमाडौं २ मा जित र २ मा हारसहित ४ अंक बटुलेर तेस्रो स्थानमा छ। मंगलबारको खेलमा चितवन विजयी भए पनि नभए पनि सीधै फाइनलमा पुग्नेछ। तर काठमाडौंका लागि भने यो खेल कि त जित्नुपर्ने नभए पराजित हुँदा पनि कम अन्तरमा हार्नुपर्नेछ। अन्यथा काठमाडौंले प्ले अफ गुमाउन सक्ने खतरा पनि छ।

प्रकाशित: ८ पुस २०७६ ०१:१५ मंगलबार

पोखरा_प्रिमियर_लिग पोखरा_पल्टन लिग_चरण