खेल

काठमाडौंको प्ले अफ सम्भावना कायमै

पोखरा - विराटनगर टाइटन्सलाई ३६ रनले पराजित गर्दै काठमाडौं गोल्डेन्स वारियरले पोखरा प्रिमियर लिग (पिपिएल) मा प्ले अफ खेल्ने सम्भावना जीवित राखेको छ। ४ खेल खेलेको काठमाडौें २  जित र २ हारका साथ ४ अंक बनाएर तालिकाको दोस्रो स्थानमा छ। एक खेल कम खेलेको चितवन राइनोज सबै खेल जितेर ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ भने बुटवल ब्लास्टर ४ अंकसहित तेस्रो स्थानमा छ। काठमाडौं र बुटवलको समान अंक भए पनि नेट रनरेटका आधारमा बुटवल पछि पर्दा काठमाडौं दोस्रो स्थानमा पुगेको हो। यद्यपि बुटवलले ३ खेल मात्रै खेलेको छ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शनिबार  काठमाडौंले टस जितेर पहिले ब्याटिङ गर्र्दै ५ विकेटको क्षतिमा १ सय ५९ रन बनायो। जबाफी ब्याटिङमा उत्रिएको विराटनगर १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय २३ रनमा सीमित भयो। ४१ रन बनाउँदा ६ विकेट गुमाएको विराटनगरका लागि पुनीत मेहरा र नोमन खानले इनिङ उकासे। उनीहरूले ७९ रनको साझेदारी गर्दै विराटनगरलाई सम्मानजनक स्कोरतर्फ डो¥याए। मेहराले ५३ रन बनाए। ३१ बल सामना गरेका उनले ३ छक्का र ४ चौका हिर्काए। नोमन खानले २५ रन बनाए। त्यस्तै प्रदीप ऐरीले २९ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन्। विराटनगरका मोहम्मद जाहिद अलाम, सुनील धमला, राजु रिजाल र किशोर महतोले  समान १ रन बनाए भने जितेन्द्र मुखिया र राजेश पुलामी मगरले समान २ रन बनाए।
काठमाडौंका सुबोध भाटीले ३, अमर रौटेला र वसन्त रेग्मीले समान २, अमृत भट्टराई र सुशन भारीले  समान १ विकेट लिए।

यसअघि काठमाडौंले पूरै ओभर खेलेर ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो। बिनारन विदेशी खेलाडी गौतम तोमर पवेलियन फर्केपछि दबाबमा परेको काठमाडौंको इनिङ कप्तान ज्ञानेन्द्र मल्ल र जयकिसन कोल्सावालाले उकासेका थिए। मल्ल र कोल्सावालाले ६६ रनको साझेदारी गरे। कोल्सावालाले ४३ बलमा ५५ रनको अर्धशतकीय पारी खेले भने कप्तान मल्लले ३३ बलमा ४५ रन बनाए। त्यस्तै, अमित श्रेष्ठले १५, आदी खानले १३, पवन सर्राफले अविजित ५ र सुबोध भाटीले अविजित १४ रनको योगदान दिए।

बलिङतर्फ विराटनगरका पुनीत मेहराले २ तथा जितेन्द्र मुखिया, नोमन खान र किशोर महतोले १÷१ विकेट लिए। शनिबारको खेलमा काठमाडौं गोल्डेन्सका जयकिसन कोल्सावाला प्लेयर अफ दी म्याच घोषित भए। उनलाई नेपाल टेलिकमको तर्फबाट नगद १० हजारसहित ट्रफी प्रदान गरिएको थियो। प्रतियोगिताअन्तर्गत आइतबार २ खेल हुनेछन्। आइतबारको पहिलो खेलमा विराटनगर टाइटन्स र चितवन राइनोज खेल्नेछन् भने दिउँसो बुटवल ब्लास्टर र धनगडी ब्लुज आमनेसामने हुनेछन्।

प्रकाशित: ६ पुस २०७६ ०४:१३ आइतबार

काठमाडौं_गोल्डेन्स पोखरा_प्रिमियर_लिग