खेल

अन्तिम समय सम्हालिन नसक्दा रोकियो च्यासल

काठमाडौं – उपाधिका दाबेदार मानिएका दुई टोली मच्छिन्द्र क्लब र च्यासल युथ क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अंक बाँडेका छन्। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा शुक्रबार भएको लिगको पहिलो खेलमा च्यासल र मच्छिन्द्र क्लबले १–१ को बराबरी खेलेका हुन्। खेलको ८८औं मिनेटसम्म १–० को अग्रता लिएको च्यासलले लिगमा लगातार दोस्रो जित हात पार्ने संकेत गरेको थियो। तर अन्तिम २ मिनेट सम्हालिन नसक्दा च्यासल अंक बाँड्न बाध्य भएको हो।

‘हामीले अन्तिम समयमा आफ्नै प्राविधिक गल्तीका कारण गोल खायाैं, जसले हामीलाई स्पष्ट तीन अंक बटुल्ने लक्ष्यबाट टाढिन प¥यो,’च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले भने, ‘हामीले मच्छिन्द्रका खेलाडीलाई म्यान टु म्यान मार्क गर्ने रणनीति लिएका थियौं। तर एउटा खेलाडी घाइते हुँदा उनको स्थानमा अर्को खेलाडी मैदान प्रवेश गराउन ढिलाई हुँदा मच्छिन्द्रका खेलाडीले पेनाल्टी बक्समा ग्याप पाए। त्यसको फाइदा उठाउँदै उनीहरू खेलमा फर्किए।’

‘स्टार खेलाडीले भरिएको मच्छिन्द्रविरुद्ध खेल कठिन हुनेमा हामी जानकार थियौं र रणनीति पनि त्यहींअनुसार बनायांै,’साहुखलले भने, ‘टोलीमा आज पहिलो पटक जापानिज खेलाडीलाई मैदान उता¥यौं। टोली विस्तारै सेट हुँदै छ। म टोलीको प्रदर्शनबाट सन्तुष्ट छु।’

२७औं मिनेटमा कप्तान सन्तोष साहुखलले गरेको उत्कृष्ट गोलबाट च्यासल खेलमा अघि बढेको थियो। सन्तोषले जारी लिगमा व्यक्तिगत तेस्रो गोल पूरा गर्ने क्रममा नितिन थापाको पासलाई पोस्टको दिशा दिएका थिए। यसअघि लिगको पहिलो खेलमा च्यासलले सन्तोषकै दुई गोलबाट गत सिजनको उपविजेता संकटा क्लबमाथि २–० को जित हात पारेको थियो।

‘ए’डिभिजन लिगमा भने सन्तोषको यो ९९औं गोल हो। पहिलो हाफको तुलनामा सुदृढ प्रदर्शन गरेको मच्छिन्द्रले दोस्रो हाफमा च्यासलमाथि लगातार दबाब बनाउँदै एकपछि अर्को आक्रमण गरेको थियो। ५३औं मिनेटमा स्ट्राइकर अभिषेक रिजालले गरेको गोलमा मच्छिन्द्रले खेल बराबरीमा ल्याए पनि रेफ्रीले अफसाइड भन्दै त्यसलाई मान्यता नदिँदा मच्छिन्द्र निराश बनेको थियो।

५६औं मिनेटमा रञ्जित धिमालको क्रसमा विशाल राईको प्रहार बाहिरिँदा मच्छिन्द्र पुनः एक पटक निराश बनेको थियो। ८८औं मिनेटमा देवेन्द्र तामाङले विशाल राईको पासमा बललाई पोस्टको दिशा दिँदै मच्छिन्द्रलाई खेलमा फर्काएका थिए। मच्छिन्द्रले पहिलो खेलमा बिग्रेड ब्वाइज क्लब(बिबिसी)लाई २–० ले हराएको थियो।

‘पहिलो हाफमा सोचेअनुरुपको प्रदर्शन गर्न सकेनौं। त्यसमाथि एक गोल खाएपछि टोलीले केही लय गुमायो,’मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘हामीले आज तीन विदेशी खेलाडीलाई मैदान उतारेका थियौं। तर खेलाडीहरूमा स्पष्ट तालमेलको अभाव देखियो। तर, अन्तिम समयमा गरेको गोलबाट १ अंक मात्र भए पनि जोड्न पाउँदा सन्तुष्ट छौं। आशा छ, टोलीले अर्को खेलमा लय समात्नेछ।’

बिबिसीको पहिलो जित
शुक्रबारको दोस्रो  खेलमा बिबिसीले जारी लिगमा पहिलो जित हात पारेको छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बिबिसीले पे्रmन्ड्स क्लबमाथि २–० को जित हात पारेको हो। गोलरहित बराबरीतर्फ अघि बढेको खेलको अन्तिम तीन मिनेटमा २ गोल गर्दै बिबिसीले  तीन अंक पक्का गरेको हो। ८७औं मिनेटमा जया गुरुङले बललाई जाली चुमाउँदै बिबिसीलार्ई अग्रता दिलाएका थिए। इन्जुरी समयको पहिलो मिनेटमा रोशन रानामगरले काउन्टर अट्याकमा बिबिसीको अग्रता दोब्बर पारेका थिए।

‘हामीले तीन अंकका लागि खेलेका थियौं। जुन पूरा भएको छ,’बिबिसीका व्यवस्थापक अर्बिन्द गुरुङले भने, ‘हामीले गत सिजन पनि फ्रेन्ड्समाथि जित हात पारेका थियौं। त्यसैले आज सोही नतिजा दोहो-याउनेमा विश्वस्त थियौं।‘ ‘आज हामीले एक जना विदेशी खेलाडी (रक्षक ताजुदिन एडेनकुन्ले बासुरी)लाई मैदान उता-यौं। उनले राम्रो प्रदर्शन गरे,’गुरुङले थपे,‘अर्काे खेलबाट १/१ मिडफिल्डर र स्ट्राइकर ल्याउने छाैं। टोली विस्तारै सेट हुँदै छ। उनीहरूको आगमनपछि टोलीले थप सुदृढ प्रदर्शन गर्नेमा आशावादी छौं। हामीले लिगमा शीर्ष ६ को लक्ष्य लिएका छौं। त्यसका लागि निरन्तर सुखद नतिजा आवश्यक छ।’

१७औं मिनेटमा विजय गुरुङको फ्रिकिक प्र्रmेन्ड्सका गोलकिपर देव गुरुङले विफल पारेका थिए। २८औं मिनेटमा फ्रेन्ड्सका प्रिजेन तामाङ बिबिसीका गोलकिपर विशाल सुनारसँग वान भर्सेस वानमा गोल गर्नबाट चुकेका थिए। ८१औं मिनेटमा ब्राजिली खेलाडी वाग्लर डी क्रोमाले खाली पोस्टमा गोल गर्न नसक्दा फ्रेन्ड्सले अग्रता लिने अवसर गुमायो। ‘आजको प्रदर्शन निकै खराब रह्यो,’फ्रेन्ड्सका प्रशिक्षक मार्कुसले भने, ‘पहिलो हाफमा सन्तोषजनक प्रदर्शन गरे पनि दोस्रो हाफको प्रदर्शन भने बिर्सनलायक रह्यो। खेलाडीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्।’ लिगमा बिबिसीको यो पहिलो जित हो भने फ्रेन्ड्सको यो लगातार दोस्रो हार हो। फ्रेन्ड्सले यसअघि पहिलो खेलमा आर्मीलाई २–१ को नतिजा सुम्पिएको थियो।

गोलरहित बराबरीतर्फ अघि बढेको खेलको अन्तिम तीन मिनेटमा २ गोल गर्दै बिबिसीले  तीन अंक पक्का ग-यो। बिबिसीका लागि ८७औं मिनेटमा जया गुरुङले बललाई जाली चुमाउँदै अग्रता दिलाउँदा इन्जुरी समयको पहिलो मिनेटमा रोशन रानामगरले काउन्टर अट्याकमा बिबिसीको अग्रता दोब्बर पारेका थिए।

आजका खेल
जावलाखेल युथविरुद्ध सरस्वती युथ क्लब
१२ः०० बजे एन्फा कम्प्लेक्स, सातदोबाटो
संकटा क्लबविरुद्ध न्युरोड टिम(एनआरटी)
३ः०० बजे, दशरथ रंगशाला,त्रिपुरेश्वर

प्रकाशित: ५ पुस २०७६ ०१:१९ शनिबार

'ए'_डिभिजन_लिग च्यासल मच्छिन्द्र_क्लब