खेल

एमसिसी पाकिस्तान जाने

लन्डन – मेरिलिबोन क्रिकेट क्लब (एमएमसी) ले बुधबार आगामी वर्ष पाकिस्तान भ्रमण गर्ने जनाएको छ। उक्त भ्रमण क्लबका अध्यक्ष कुमारा सांगाकाराको कप्तानीमा हुनेछ। पाकिस्तानमा हालै वर्षोैंको अन्तरालपछि टेस्ट क्रिकेटले पुनरागमन गरेको थियो।

पाकिस्तानमा ११ वर्षपछि भएको पाकिस्तान र श्रीलंकाबीचको पहिलो टेस्ट बराबरीमा सकिएको थियो।  ११ वर्षअघि श्रीलंकाली टोली चढेको बसमा भएको आक्रमणपछि कुनै पनि विदेशी टोलीले पाकिस्तानमा गएर टेस्ट खेलेका थिएनन्। लाहोरको गद्दाफी रंगशाला जाँदै गरेको बसमा आतंककारी आक्रमण हुँदा ८ जनाले ज्यान गुमाएका थिए।

त्यसपछि विदेशी टोली पाकिस्तान नजाँदा उनीहरूले संयुक्त अरब इमिरेट्सलाई घरेलु मैदान बनाउँदै क्रिकेट खेल्दै आइरहेका थिए। आगामी फेब्रुअरी महिनामा पाकिस्तान भ्रमणका लागि त्यहाँको क्रिकेट बोर्डले दिएको निम्तोलाई स्वीकार गरेको एमएमसीले जनाएको छ। सो अवसरमा एमएमसीले लाहोरमा केही खेल खेल्नेछ। ‘यो पाकिस्तानी क्रिकेटलाई समर्थन गर्ने महत्वपूर्ण अवसर हो,’ एघार वर्षअघिको दुर्घटनाका घाइते सांगाकाराले भने, ‘दुर्घटनापछि अन्तर्राष्ट्रिय खेललाई पाकिस्तानी भूमिमा ल्याउन क्रिकेट बोर्डले अथक प्रयास गरिरहेको छ।’ 

क्रिकेट समर्थकको भोकलाई एक दशकपछि  घरेलु भूमिमा शान्त गर्न यो भ्रमण सहायक सिद्ध हुने क्लबका कार्यकारी सचिव गुई लेभेन्डरले बताए। उनले भने, ‘हाम्रो प्रमुख चासो भनेको भ्रमणको सुरक्षा हो। हामी मजबुत सुरक्षा व्यवस्थाका लागि पाकिस्तानी क्रिकेट बोर्डसँग सहकार्य गरिरहेका छौं।’ एमसिसीको यस निर्णयले आगामी दिनमा अरू राष्ट्रलाई पनि पाकिस्तान आउन प्रेरणा मिल्ने पाकिस्तानी क्रिकेट बोर्डका कार्यकारी प्रमुख वसिम खानले बताए।

प्रकाशित: ३ पुस २०७६ ०१:२५ बिहीबार

एमएमसी पाकिस्तान_भ्रमण