खेल

अन्तर्राष्ट्रिय खेलाडीको मान्यता सबैलाई दिन सकिन्नः मन्त्री विश्वकर्मा

काठमाडौं– खेलकूद विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सोमबार दफावार छलफल भएको छ।

छलफलमा भाग लिने सांसदहरुले अन्तर्राष्ट्रिय खेलाडीको परिभाषामाथि संशोधनको प्रस्ताव पेश छन्। कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने संशोधन परेको छ।

सांसद जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्ने निकायको नाम नै कोट गरिनुपर्ने र ओलम्पिक कमिटीको छाताभित्र हुने खेलहरुमा सहभागि खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने बताए।

सांसद सरिता गिरीले राष्ट्रिय, अन्तर्राष्ट्रिय र प्रदेशस्तरमा हुने खेलहरुको संयोजन हुनेगरि कुनै स्पष्ट शब्द राखिनुपर्ने बताइन्। सांसद रंगमति शाहीले विधेयकमाथि परेको संशोधनहरु के कति आवश्यक छन् त्यसको विषयमा टुंगो लगाएर अरु कुराहरु पछि पनि थप्न सकिने बताइन्।

सांसदहरुको संशोधन प्रस्तावमाथि जवाफ दिँदै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले देशको प्रतिनिधित्व गर्ने सबै खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिन नसकिने बताए।

केही समयअघि सम्पन्न साग प्रतियोगिताको उदाहरण दिँदै उनले भने,‘सागमा नेपालको तर्फबाट ६ सय बढी खेलाडीहरु सहभागि थिए।

६ सय खेलाडीहरुलाई नै अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दियौँ भने त्यो कति उपयुक्त हुन्छ?’ उनले खेलाडीको स्तार मापन गर्ने प्रस्ताव अघि सारे। बैठकमा ऐनको नाम राष्ट्रिय खेलकुद विकास ऐन राख्ने विषयमा सहमति जुटेको छ।

प्रकाशित: ३० मंसिर २०७६ ०८:१४ सोमबार

खेलकूद अन्तर्राष्ट्रिय_खेलाडी