खेल

आइतबारदेखि प्रधानसेनापति महिला फुटबल

काठमाडाैं – सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा आइतबारबाट  प्रधानसेनापति साताैं अन्तर्राष्ट्रिय आमन्त्रित महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

मंसिर २९ देखि पुस ९ सम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागिय,तीन प्रदेश र २ विदेशी टोली गरी कुल ८ टोलीको सहभागिता रहने छ। प्रतियोगिताको उद्घाटन र फाइनल खेल आर्मी हेडक्वाटरको फुटबल मैदानमा हुनेछ भने बाँकी खेल लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका दुई मैदानमा हुनेछन्।

प्रतियोगिताको समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, प्रदेश नम्बर १, एपिएफ र सिक्किमको टोली तथा समूह ‘बी’ मा प्रदेश २,नेपाल पुलिस क्लब, प्रदेश ५ र भुटानी टोली रहनेछन्। उद्घाटन खेलमा आइतबार आर्मी र प्रदेश १ आमनेसामने हुनेछन्। लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको प्रत्येक समूहका शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

प्रतियोगिताको विजेताले नगद ३ लाख, उपविजेताले नगद १ लाख ५० हजार तथा तेस्रो र चौथो स्थानको टोलीले समान नगद ५० हजार प्राप्त गर्नेछन्। साथै सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्नेछन् भने उत्कृष्ट गोलकिपर, मिडफिल्डर, रक्षक, स्ट्राइकर र प्रशिक्षकले जनही नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितामा सहभागी हुने ३ वटा प्रदेशका टोलीलाई नेपाली सेनाको राष्ट्रिय सेवादल जगन्ननाथ देवलमा र २ विदेशी टोलीलाई एन्फा कम्पेक्स सातदोबाटोमा व्यस्थापन गरिएको बताएको छ।

प्रकाशित: २७ मंसिर २०७६ ०२:१८ शुक्रबार

महिला_फुटबल