खेल

उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त

काठमाडौं – मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमणमा रहेको जापान फुटबल लिग टोलीले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त भएको जनाएको छ।

जापान फुटबल लिगका १६ टोलीमध्येका उत्कृष्ट युवा  खेलाडीहरूको समूह अहिले दुई मैत्रीपूर्ण खेलका बुधबार नेपाल भ्रमणमा आएको हो। जापानी टोलीले शुक्रबार नेपाल नीलो र आइतबार लिग च्याम्पियन मनाङ मस्र्याङ्दीको सामना गर्नेछ। यसअघि १३औं सागको स्वर्ण विजेता यु–२३ फुटबल टोली र जापानी  यु–२२ टोलीबीच मैत्रीपूर्ण खेल हुने बताइएको थियो। तर सागमा सहभागी टोलीका अधिकांश खेलाडी घाइते भएकाले बेन्चका खेलाडी र यु–१९ को टोलीका खेलाडीलाई समेट्दै नेपाल नीलो टोली बनाइएको हो।

‘हामी उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छौं,’ जापानी टोलीका म्यनेजर खातोले भने, ‘हामी नेपालमा खेल्न पाउदा खुसी छाैं। दुई युवा टोलीको भिडन्त रोचक हुनेछ। हामीले जापान फुटबल लिगका उत्कृष्ट खेलाडी छनोट गरी यु–२२ टोली निर्माण गरेका हौं।’

यता एन्फाका उपाध्यक्ष शिक्षित पराजुलीले आफुहरुले जापान फुटबल संघ (जेएफए) लाई टोली पठाउन आग्रह गरेको र उनीहरूले त्यसलाई स्वीकार गरेको भन्दै धन्यवाद दिए।

‘जापानी टोलीबाट हामीले धेरै सिक्ने अवसर पाउनेछाैं। त्यसका लागि जेएफएलाई विशेष धन्यवाद,’ पराजुलीले भने, ‘यो सुरुआत मात्र हो। आगामी दिनमा दुई राष्ट्रबीच धेरैभन्दा धेरै मैत्रीपूर्ण खेल हुनेमा हामी आशावादी छाैं।’

प्रकाशित: २७ मंसिर २०७६ ०२:०७ शुक्रबार

उत्कृष्ट_प्रदर्शन