खेल

नेपोलीका प्रशिक्षक एन्सेलोट्टी बर्खास्त

मिलान – जिंकमाथि ४–० को जितका साथ च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भए पनि नेपोलीका प्रशिक्षक कार्लो एन्सेलोट्टी बर्खास्तगीबाट जोगिन सकेनन्। ६० वर्षे एन्सेलोट्टीको स्थानमा बुधबारबाटेै एसी मिलानका पूर्व प्रशिक्षक जिएनारो गटुसोले नेपोलीको प्रशिक्षण सम्हालेका छन्। नेपोली समूह ‘इ’बाट उपविजेताको रूपमा अघिल्लो चरणमा स्थान बनाएको हो। लिभरपुल समूह विजेता बन्यो। जितसँगै एन्सेलोट्टीले नेपोलीको ९ खेलको जितविहीन यात्रामासमेत पूर्ण विराम लगाएका थिए। तर पनि उनी बर्खास्तगीमा पर्नबाट भने बच्न सकेनन्।

‘नेपोलीले मुख्य प्रशिक्षक कार्लाे एन्सेलोट्टीसँगको सम्झौता यही अन्त्य गर्ने निर्णय गरेको छ,’ खेलको दुई घण्टापछि क्लबले सामाजिक संजाल ट्विटरमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ। रियाल मड्रिड, चेल्सी र पेरिस सेन्ट जर्मनका पूर्व प्रशिक्षक एन्सेलोट्टीलाई खेलपछि हटाइएको हो।

‘राजीनामा ? मेरो जीवनमा अहिलेसम्म मैले राजीनामा दिएको छैन र म कहिले दिन्न पनि,’ एन्सेलोट्टीले भने। लगातारको खराब नतिजापछि नेपोलीका मालिक र खेलाडीबीचको सम्बन्धमा चिसोपन आएको थियो। नेपोलीका खेलाडीले च्याम्पियन्स लिगकै समूह चरणमा रेड बुल साल्जबर्गसँग १–१ को बराबरीमा रोकिएपछि अभ्यासका लागि मैदानमा जान अस्वीकारसमेत गरेका थिए।

इटालियन सिरी ‘ए’ मा नेपोली २१ अंकका साथ साताैं स्थानमा छ। जुन शीर्ष स्थानको इन्टर मिलानभन्दा १७ अंक कम हो। चौथो स्थानको टोली काग्लियारीसँग भने नेपोली ८ अंकले पछि छ। एसी मिलानलाई दुई र रियाल मड्रिडलाई एक पटक च्याम्पियन्स लिगको उपाधि जिताएका एन्सेलोट्टीले २०१८ जुनबाट नेपोलीको प्रशिक्षण सम्हालेका थिए।

१९८७ र १९९०  मा इटालियन सिरी ‘ए’को उपाधि जितेको नेपोलीले १९८९ मा युइएफए कप जितेको थियो। त्यो नै नेपोलीले जितेको अहिलेसम्मकै प्रमुख उपाधि हो। त्यसयता भने टोली सधैं उपाधिविहीन बन्दै आएको छ। एन्सेलोट्टीको प्रशिक्षणमा टोलीले गत सिजन दोस्रो स्थानमा बस्दै इटालियन सिरी ‘ए’ को अन्त्य गरेको थियो। तर, नेपोली अक्टोबर १९ पछिका पछिल्लो ७ सिरी ‘ए’ खेलमा जितविहीन रहँदै आएको छ।

प्रकाशित: २६ मंसिर २०७६ ०१:२४ बिहीबार

च्याम्पियन्स_लिग कार्लो_एन्सेलोट्टी बर्खास्त