खेल

महिला क्रिकेटमा अञ्जली चन्द सर्वोत्कृष्ट बलर

पोखरा– १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा विश्व कीर्तिमान कायम गरेकी नेपाली बलर अन्जली चन्द उत्कृष्ट खेलाडी घोषित भएकी छिन्।

प्रतियोगिताको उपाधी बंगलादेशले जितको थियो। श्रीलंकाले रजत पदक हात पार्दा नेपालले कास्यमा चित्त बुझायो।

स्वर्णका लागि आइतबार भएको प्रतिस्पर्धामा बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर ९१ रनको मध्यम स्कोर बनाएको थियो। जितका लागि ९२ रनको लक्ष्य पछ्याएको श्रीलंका जितको नजिकै पुगेर ९ विकेटको क्षतिमा ८९ रन मात्रै बनाउन सक्यो।

श्रीलंकालाई रोक्ने क्रममा बंगलादेशका बलरहरु नहिदा अख्तरले २ तथा जहानरा आलम, सलमान खातुन, र खादिजा खुर्वाले समान एक एक विकेट लिए। ४ ओभरको स्पेलमा १ मेडन सहित मात्रै ९ रन खर्चिएर २ विकेट लिएकी नहिदा अख्तर प्लेयर अफ द फाइनल भइन्।

४ इनिङ्गमा ११.१ ओभर बलिङ्ग गर्दै ५ मेडन सहित ११ विकेट लिएकी नेपालकी बलर अंजली चन्द प्रतियोगिताकै उत्कृष्ट बलर सहित सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। त्यस्तै ४ इनिङ्गमा १ सय ८७ रन जोडेकी श्रीलंकाकी हर्षिता समाराविकर्मा उत्कृष्ट ब्याट्स्उमन घोषित भइन्।

प्रकाशित: २२ मंसिर २०७६ ११:४२ आइतबार

महिला_क्रिकेट अन्जली_चन्द