खेल

एथलेटिक्समा भारतको दबदबा

नेपाफली खेलाडी दिपक अधिकारी।

काठमाडौं - नेपालका दीपक अधिकारीले पुरुष १० हजार मिटर दौडमा कांस्य पदक जितेको दिन भारतले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्समा आफ्नो दबदबा कायम  राखेको छ। दोस्रो दिन ७ स्वर्णका लागि भएको प्रतिस्पर्धामा भारतले ५ स्वर्ण जित्यो। पाकिस्तान र श्रीलंकाको नाममा समान १ स्वर्ण रह्यो। भारतले पुरुषतर्फ लङजम्प, १० हजार मिटर दौड, डिस्कस थ्रो एवं महिलातर्फ   २ सय मिटर र डिस्कस थ्रोमा स्वर्ण जितेको हो।

पुरुष १० हजार मिटर दौडमा भारतका सुरेश कुमारले निर्धारित दूरी २९.३३.६१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्दा श्रीलंकाका सानमुगेश्वरनले निर्धारित दूरी ३०.४९.३० सेकेन्डमा पूरा गर्दै रजत जिते। नेपालका दीपक अधिकारीले निर्धारित दूरी ३०.४९.३० सेकेन्डमा पूरा गर्र्दै कांस्य  जिते । यता महिला २ सय मिटर दौडमा भारतकी अर्चना सुरिन्थले निर्धारित दूरी २३.६६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्दा मात्र ३ सेकेन्डले पछि परेकी पाकिस्तानी खेलाडी नज्मा प्रवीनले रजत तथा भारतकै चन्द्रा लेखाएनले  २४.२७ सेकेन्डका साथ कांस्य जिते। सो विधामा नेपालकी सरवती चौधरी र कृष्णा चौधरी हिट चरणबाटै बाहिरिएका थिए। निर्धारित दूरी सरस्वतीले २६.०४ र कृष्णाले २६.०४ सेकेन्डले पूरा गरे।

पुरुषतर्फ २ सय मिटर दौडमा पाकिस्तानका उजिर रहमानले निर्धारित दूरी २१.१५ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्दा श्रीलंकाका भिनोज सूर्यानाले  २१.१९ सेकेन्डका साथ रजत र माल्दिभ्सका साहिद हसनले २१.२२ सेकेन्डका साथ कांस्य पदक जिते।

त्यस्तै पुरुषको लङजम्पमा भारतका लोकेश सत्यानाले ७.८७ मिटर दूरीका साथ स्वर्ण  जित्दा भारतकै स्वामीनाथन यादवले ७.७७ मिटर दूरीका साथ रजत र बंगलादेशका अलअमिनले ७.६० मिटर दूरीका साथ कांस्य जिते। सो विधामा भुवन महतो र  शेरबहादुर विष्टले क्रमश ६.७६ मिटर र ६.८५ मिटर दूरी पार गरे।

महिला लङजम्पमा श्रीलंकाकी लक्षिनी सारंगाले ६.३८ मिटर दूरीका साथ स्वर्ण  जित्दा श्रीलंकाकै अन्जनी उथ्पालाले ६.११ मिटर दूरीका साथ रजत र भारतकी सान्द्रा बाबुले ६.०२ मिटर को दूरीका साथ कांस्य पदक जिते।

यता नवजित कौरले ४९.८५ मिटर फ्याँक्दै महिला डिस्कस  थ्रोमा स्वर्ण जित्दा भारतकै सुरभी विश्वासले ४७.३१ मिटर फ्याँक्दै रजत र  श्रीलंंकाकी इशारा मधुरंगले ४१.२९ मिटर फ्याँक्दै कांस्य जिते। पुरुष डिस्कस  थ्रोमा भारतका कृष्ण सिंहले स्वर्ण र गगनदीप सिंहले रजत जित्दा पाकिस्तानका साम्स उल हकले कांस्य जिते। कृष्ण सिंहले ५७.८१ मिटर फ्याँक्दा गगनदीप सिंहले ५३.५७ मिटर र साम्सउलहकले  ४४.३ मिटर फ्याँके।

प्रकाशित: १९ मंसिर २०७६ ०१:१७ बिहीबार

एथलेटिक्स भारत दबदबा