खेल

होचो कदको अग्लो जित

काठमाडौं- होचो कद र सानो जिउडालकी तेक्वान्दो खेलाडी काजल श्रेष्ठका लागि मंगलबार विशेष दिन नै रह्यो । घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा फाइटतर्फ स्वर्ण जितेपछि  राष्ट्रिय टोलीकी सानी काजलको दिन विशेष बन्न पुग्यो ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमीमा सञ्चालन भएको तेक्वान्दोको फाइट विधा मंगलबारदेखि सुरु भएको थियो । उनै काजलले ४६ केजीमुनि तौलसमूहमा नेपाललाई मंगलबार पहिलो स्वर्ण दिलाएकी थिइन् । आशा गरिएका खेलाडीको पराजयपश्चात् सानी काजलबाट पनि निराशा मिल्ने हो कि भन्ने आशंका सिर्जना नभएको होइन ।

आशंका गर्नुपर्ने ठाउँ पनि धेरै थिए । फाइनलमा काजलकी प्रतिद्वन्द्वी पाकिस्तानकी साइदा जादी सिद्रा उनीभन्दा निकै अग्लो कदकी थिइन् । साइदाको शारीरिक विशेषता थियो, लामालामा खुट्टा र सानी काजलको तुलनामा खाइलाग्दो जिउडाल । साथै सेमिफाइनलमा श्रीलंकाकी बलियो प्रतिद्वन्द्वी इसरा पिउमालीलाई स्तब्ध बनाउँदा साइदा फाइनलमा हाबी हुने विश्लेषण पनि भएका थिए ।

त्यसमाथि पनि पाकिस्तानी खेलाडी बलियो र अग्ला प्रतिद्वन्द्वी भएकाले काजलको किक प्रहार साइदाको टाउकोमा रहेको सेन्सरसम्म पुग्न चुनौतीपूर्ण देखिन्थ्यो । साथै काजलको सेमिफाइनलको प्रतिस्पर्धा पनि त्यति सन्तोषजनक देखिएको थिएन । कारण थियो, तीन राउन्डको फाइटमध्ये दुई राउन्ड चलिरहँदा नै काजल निकै थकित भएकी थिइन् ।
काजलमा स्टामिना निकै कम भएको स्पष्ट झल्किन्थ्यो । काजलले मुस्किलले भारतीय प्रतिद्वन्द्वीविरुद्ध खेलिन् । चातुर्यता देखाउँदै दुई राउन्डको अग्रता जोगाउँदा काजलले सेमिफाइनलमा ५०–३९ स्कोरको जित निकालेकी थिइन् । त्यसैले पनि फाइनलमा हाबी हुन काजलको चातुर्यता मात्र पर्याप्त थिएन । स्टामिना पनि तीन राउन्डसम्म देखाउनुपर्ने थियो ।

तर उक्त तौल समूहको फाइनल सुरु हुन साथ दृश्य फरक बन्यो । काजलले सबै खालाको आशंका असत्य साबित गरिदिइन् । उनीमा सुरुआतदेखि नै जोस देखियो र स्टामिनामा पनि सुधार थियो । काजलले छक्याइछक्याई अग्ली साइदाविरुद्ध अंक निकालिन् । पहिलो राउन्ड सकिँदा काजलले १४–९ ले अग्रता बनाएपछि उपस्थित दर्शकको निकै जोसिलो साथ पाइन् ।

पहिलो राउन्डमा साइदाले काजललाई निकै चुनौती दिए पनि रोक्न सकिनन् । तर दोस्रो र र तेस्रो राउन्डमा काजल साइदामाथि पूर्ण रूपमा हाबी हुँदा नेपालले मंगलबार तेक्वान्दोमा पहिलो स्वर्ण जित्यो । अन्ततः काजलले ५०–१४ को फराकिलो जितसँगै सानी भए पनि आफ्नो खेल उत्कृष्ट रहेको प्रमाणित गरिन् । जितपछि काजलले आफ्नो प्रतिद्वन्द्वी निकै कठिन रहेको प्रस्ट्याइन् ।

‘मेरो रणनीति नै स्वर्ण जित्नका लागि शतप्रतिशत प्रदर्शन गर्ने थियो,’ काजलले भनिन्, ‘तर सहज थिएन । उनी निकै बलियी र अग्ली थिइन् । त्यसैले उनको फेस किकलाई ब्लक गर्नुको विकल्प मसँगै थिएन । साथै मैले उनीविरुद्ध सटीक प्रहार गर्नु पनि थियो । सोहीअनुरूप खेल्दा उनले अंक प्राप्त गर्न सकिनन् । सहज जित प्राप्त भयो ।’ सो तौल समूहमा भारतकी राधा भाटी र श्रीलंकाकी इसारा पिइउमाली सामाराकोनले कांस्य जितेका थिए ।
वीरको सनसनीपूर्ण जित

नेपालले मंगलबार फाइटतर्पm दोस्रो स्वर्ण जित्दा वीरबहादुर महराले सफलता दिलाए । वीरबहादुरले फाइनलमा पाकिस्तानका मुहामद फहिमलाई ४१–३६ ले हराउँदै स्वर्ण जितेका थिए ।

सेमिफाइनलमा भारतका पृथ्वीराज चौहानलाई ३२–२४ ले हराउँदा नै वीरलाई सामान्य चोटसमेत लागेको थियो । त्यसैले पनि फाइनलमा पाकिस्तानी प्रतिद्वन्द्वीलाई हराउनु वीरका लागि चुनौतीपूर्ण नै थियो । तर, वीरमाथि धेरैले भरोसा गरेका थिए । त्यसमाथि नेपाली प्रशिक्षक भने वीरप्रति निकै आशावादी थिए । जसलाई वीरले पनि तोडेनन् ।
स्वर्ण सम्भव हुनुमा वीरको धैर्यता उत्तिकै थियो । बारम्बर खेलमा पछि परे पनि वीरले धैर्यता गुमाएनन् र पुनरागमन गरिहाले । पहिलो चरणमा वीर पछि परे । दोस्रो राउन्डमा भने वीरले १५–१३ ले पुनरागमन गरे ।

तेस्रा राउन्ड सकिँदा वीरले ४१–३६ को रोमाञ्चक जित दर्ता गर्दा नेपालले मंगलबार तेक्वान्दोमा दोस्रो स्वर्ण प्राप्त गर्‍यो । जितपछि वीरले स्वर्ण आफ्ना प्रशिक्षकहरूप्रति समर्पित गरे । यस समूहमा श्रीलंका थरङ्गा लकमल र भारतकी पृथ्वीराज चौहानले कांस्य पदक जित्न सफल भए । महिला ५७ केजीमुनिको फाइटमा भने स्वर्ण आशा गरिएका निमा गुरुङ स्तब्ध भइन् । निमा भारतकी कसिस मलिकसँग ८–७ को हार सामना गर्न बाध्य बनाइन् । पाकिस्तानी नक्स हम्दानी र भुटानकी छिरिङ याङचेनले कांस्य पदक जिने ।

मंगलबार भएका कुल चार स्वर्ण प्रतिस्पर्धामध्ये पाकिस्तानले स्वर्ण जित्न सफल भयो । पुरुषतर्पm ५४ केजीमुनि पाकिस्तानका जैब साहले फाइनलमा श्रीलकाका रेनहाना अनुरा बन्दारालाई ४१–१० ले हराए । यस तौलमा नेपालका मनोज मल्ल र भारतका कन्हा मैनालीले कांस्य पदकमा खुम्चिएका थिए ।

फाइनलमा काजलकी प्रतिद्वन्द्वी पाकिस्तानकी साइदा जादी सिद्रा उनीभन्दा निकै अग्ली थिइन् । साइदाको शारीरिक विशेषता थियो, लामालामा खुट्टा र सानी काजलको तुलनामा खाइलाग्दो जिउडाल ।


 
 
      

प्रकाशित: १८ मंसिर २०७६ ०२:५८ बुधबार

तेक्वान्दो स्वर्ण दक्षिण_एसियाली_खेलकुद