खेल

तस्बिरमा पोखराकाे १३ औं साग

पाेखरा- पर्यटकीय नगरी पोखरामा तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता भव्यरुपमा शुभारम्भ भएको छ। सागमा खेलाइने कुल २६ खेलमध्ये आठ खेल आज भव्य समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले औपचारिकरुपमा शुभारम्भ भएको घोषणा गरे।

सो अवसरमा मुख्यमन्त्री गुरुङले पर्यटकीय नगरी पोखरामा सागका केही खेल हुनुले यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुगेको भन्दै उनले यसबाट भ्रमण वर्ष २०२० लाई सफल पार्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले साग नेपालका लागि महत्वपूर्ण अवसर भएको बताउँदै यसको सफलताका लागि अहोरात्र कृयाशिल सबैलाई धन्यवाद दिए।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश शिलवालले दुई/दुई पटकसम्म सरेको साग सबैको साथ र सहयोगमा यस पटक भव्यताका साथ सम्पन्न गर्न लागिएको बताए। तीन महिनाको अवधिमा सागलाई लक्षित पूर्वाधार तीव्ररुपमा निर्माण भएको बताउँदै उनले सागमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पोखरामा साग हुनु पोखरा र गण्डकी प्रदेशका लागि महत्वपूर्ण अवसर भएको बताए।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पर्यटकीय नगरी पोखरामा सागका खेल सञ्चालन हुनुले यहाँको खेल पर्यटनका लागि उत्तिकै सम्भावना उजागर गरे। राष्टिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले पोखरामा साग हुनु यहाँका लागि महत्वपूर्ण अवसर भएको र यसलाई सम्पन्न गराउन सबैको साथ र सहयोग प्राप्त भएको बताए।

उद्घाटन समारोहमा सागमा सहभागी सार्क राष्ट्रका खेलाडी तथा पदाधिकारीले मार्च पास गरेका थिए भने उक्त अवसरमा विभिन्न झाँकी प्रदर्शन गरिएको थियो। गुरुङ, नेवार, थकाली, ब्राह्मण, क्षेत्रीलगायत जातजातीको वेषभुषासहितका झाँकीले रोमाञ्चक बनेको पोखरा रङ्गशालामा साँझ आतीसबाजीसमेत गरिएको थियो।

प्रकाशित: १६ मंसिर २०७६ १५:१७ सोमबार

तेह्रौँ_दक्षिण_एशियाली_खेलकूद_(साग) पाेखरा