खेल

बंगलादेश र पाकिस्तानबीच उद्घाटन खेल

पोखरा - पोखरेली खेलकुद इतिहासमै पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग) हेर्ने अवसरको प्रतीक्षा आजबाट सकिँदै छ। आज आइतबारदेखि पोखरामा आयोजना हुने सागका ८ खेलमध्ये ब्याडमिन्टन प्रतियोगिता सुरु हँुदैै छ। पोखरामा महिला फुटबल, महिला क्रिकेट, ट्रायथोलन, भारोत्तोलन, ह्यान्डबल, बिच भलिबल र आर्चरीका खेल आयोजना हुनेछन्।

पोखरा रंगशालामा पूर्वाधार निर्माणपछि पहिलो पटक सागका खेलहरु आयोजना हुने भएको हो। २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद आयोजनासँगै खेलकुद शहरको उपमाबाट उदाएको पोखराले दक्षिण एसियाली खेलकुद प्रतियोगिताको १३औं संस्करणका ८ खेल आयोजना गर्ने सौभाग्य पाएको हो। सौभाग्य त्यस मानेमा पनि हो, पोखरा रंगशालामा ब्याडमिन्टन हलमा सातै देशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। सागका अन्य खेलमा भने पोखरामा सातै देशको सहभागिता छैन।

७ स्वर्ण, ७ रजत र १४ कांस्य पदकका लागि सातै देशका ९४ जना महिला तथा पुरुष खेलाडी पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा उत्रिने कास्की जिल्ला ब्याडमिन्टन संघले जनाएको छ। झन्डै साढे दुई महिनाको अथक प्रयासपछि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने सम्भावनालाई जीवितै राख्दै आज आइतबार गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले हलको उद्घाटन गर्ने कार्यक्रम छ। पूर्वाधार निर्माणमा बीचमा देखिएको अन्योल चिर्दै संघले रातदिनको खटाइपछि हल पूर्ण रूपमा तयार पारेको हो। तयार पारिएका हलका तीनवटा कोर्टमा प्रतिस्पर्धा गरिनेछ। एउटा कोर्टमा भने दर्शकका लागि प्यारापिट राखिएको छ।

७ स्वर्ण, ७ रजत र १४ कांस्य पदकका लागि सातै देशका ९४ जना महिला तथा पुरुष खेलाडी पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा उत्रिने कास्की जिल्ला ब्याडमिन्टन संघले जनाएको छ।

आयोजक राष्ट्र नेपालको तर्फबाट २५ जना खेलाडी तथा प्रशिक्षकसहितको उपस्थिति छ। पुरुष र महिलामा समान १० खेलाडीले पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ नङ्सल तामाङ, रसिला महर्जन, जेसिका गुरुङ, सीमा राजवंशी, अनुमाया राई, अमिता गिरी, सीता राई, नीता लम्साल, पूजा श्रेष्ठ र शोभा गौचन प्रतिस्पर्धी छन् भने पुरुष खेलाडीमा रन्जित तामाङ, दीपेश धामी, विकास श्रेष्ठ, नवीन श्रेष्ठ, प्रिन्स दाहाल, विष्णु कटवाल, प्रफुल महर्जन, सुनील जोशी, सजनकृष्ण ताम्राकार र जीवन आचार्यले प्रतिस्पर्धा गर्नेछन्।

भारतले पनि ब्याडमिन्टनमा निर्धारित कोटाअनुसार नै खेलाडीलाई सहभागी गराउनेछ। भारतबाट १० पुरुष तथा १० महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पाकिस्तानले ५ पुरुष, ५ महिला खेलाडीलाई कोर्टमा उतार्नेछ। बंगलादेशबाट ६ पुरुष, ६ महिला खेलाडीको सहभागिता रहेको छ। श्रीलंकाबाट ७ पुरुष, ७ महिला खेलाडीले विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्। भुटानले सबैभन्दा कम खेलाडीलाई कोर्टमा उतार्नेछ। ४ पुरुष, २ महिला खेलाडीले पदकका लागि प्रतिस्पर्धा गर्ने संघले जनाएको छ। माल्दिभ्सबाट भने ६ पुरुष, ६ महिला खेलाडी पोखरा आइपुगेका छन्।

पोखरामा हुने ब्याडमिन्टन आइतबार सुरु भई शुक्रबार (२० गते) सम्म चल्नेछ। टिम इभेन्टतर्फ मंसिर १५ गते महिला तथा पुरुष क्वार्टरफाइनलका खेल हुनेछन् भने मंसिर १६ गते सेमिफाइनल तथा फाइनल खेल हुने तालिका छ। व्यक्तिगत इभेन्टतर्फ मंसिर १७ गते  महिला एकल तथा डबल्स, पुरुष एकल र डबल्स, मिक्सतर्फको प्रारम्भिक खेल हुनेछन्। १८ गते महिला तथा पुरुष सिङ्गल र डबल्सको क्वार्टरफाइनल खेल हुने तालिका छ। १९ गते सबै इभेन्टका सेमिफाइनल खेल हुनेछन् भने २० गते फाइनल खेल आयोजना हुने कार्यतालिका तय भएको कास्की जिल्ला ब्याडमिन्टन संघका प्रथम उपाध्यक्ष नरबहादुर गुरुङले जनाकारी दिए। बिहान साढे आठ बजे उद्घाटन समारोह हुनेछ। १० बजे खेल सुरु गरिनेछ। उद्घाटन खेलमा बंगलादेश र पाकिस्तानबीच मेन्स टिम इभेन्टमा प्रतिस्पर्धा हुने उनले जानकारी दिए।

प्रकाशित: १५ मंसिर २०७६ ०३:४३ आइतबार

दक्षिण_एसियाली_खेलकुद ब्याडमिन्टन