खेल

महिला भलिबल टोलीको ऐतिहासिक जीत, रजत पदक पक्का

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलबाट नेपालले कम्तीमा रजत पदक पक्का गरेको छ। 

नेपालले सेमिफाइनलमा श्रीलंकालाई तीन शुन्यको सोझो सेटमा पराजित गरे पछि रजत पदक पक्का गरेको हो। नेपाल श्रीलंका सामु बलियो रुपमा प्रस्तुत भएको थियो। श्रीलंकालाई पराजित गर्दै फाइनलमा प्रबेश गरेको नेपालको भेट बलियो प्रतिद्वन्द्वी भारतसंग हुनेछ। नेपालले पहिलो सेट श्रीलंकालाई २५-१४ ले जित्यो।

दोस्रो सेट २५-१८ ले जित्यो। अन्तिम सेट पनि नेपालले २५-२१ अंकमा जित्यो। फाइनल प्रतिद्वन्द्वी भारतले आजै दिउँसो भएको खेलमा माल्दिभ्सलाई तीन शुन्यको सोझो सेटमा पराजित गरेको हो। भारतले मादिभ्सलाई २५–१४, २५–६ र २५–१७ पराजित गर्यो।

नेपाल सागको ईतिहासमा पहिलो पटक फाइनलमा पुगेकोे हो। नेपाली महिला भलिबल टोली सागको इतिहासमा फाइनल पुग्न सकेको थिएन। फाइनलमा प्रवेश गरेको नेपालले महिला भलिबलबाट कम्तिमा रजत पदक पक्का गरेको छ।

फाइनलमा प्रवेश गरेका भारत र नेपाल समूह ‘ए’ बाट आएका टोली हुन्। समूहको खेलमा नेपाल भारतसंग तीन शुन्यको सोझो सेटमा पराजित भएको थियो। दक्षिण एसियामा भारत महिला भलिबल बलियो टोलीका रुपमा रहको छ। नेपाललाई उक्त खेल दबाव पूर्ण हुने देखिन्छ।

भारत समूह ‘ए’ को विजेता र नेपाल उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका थिए। त्यस्तै समूह ‘बी’को विजेता हुँदै श्रीलंका र उपविजेता हुँदै माल्दिभ्स सेमिफाइनलमा प्रवेश गरेका थिए। अब नेपालले फाइनलमा मंगलबार भारतसंग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १४ मंसिर २०७६ १५:४४ शनिबार

भलिबल जीत रजत_पदक