खेल

सन्दीप साग टोलीबाट बाहिर

काठमाडौं – आँखाको शल्यक्रियाका कारण नेपाली राष्ट्रिय टोलीका स्पिनर  सन्दीप लामिछानेले घरेलु मैदानमा अर्को साताबाट सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका छन्। राष्ट्रिय टोलीका म्यानेजर रमन शिवाकोटीले सोमबार सन्दीपको सोमबार तुरुन्तै आँखाको शल्यक्रिया गरिएको र दुई साता आराम गर्नुपर्ने भएकाले  उनी साग टोलीबाट बाहिरिएको बताएका हुन्।

‘सन्दीप साग टोलीमा हुने छैनन्,’ सिवाकोटीले भने, ‘चिकित्सकले केही महिनाअघि  गरेको चेकजाँचमा चस्मा लगाउन सल्लाह दिएका थिए। तर निरन्तर खेलका कारण त्यसो गरिएन। आज नियमित चेकअपका लागि तिलगंगा आँखा अस्पताल जाँदा चिकित्सकले तत्काल शल्यक्रिया गर्न भनेपछि शल्यक्रिया गरिएको हो। उनलाई २ साता आराम गर्न भनिएको छ।’
सन्दीप टोलीबाट बाहिरिएपछि  वैकल्पिक खेलाडीका रूपमा रहेका रोहितकुमार पौडेललाई टोलीमा बोलाइएको छ।

सागअन्तर्गत पुरुष क्रिकेटका खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन्। जहाँ नेपालसहित भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंका गरी ५ टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा श्रीलंका र बंगलादेशबाट यु–२३ टोलीको सहभागिता रहनेछ भने नेपाल, भुटान र माल्दिभ्सका भने सिनियर टोलीे सहभागी हुनेछन्।

राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष २ टोली फाइनल प्रवेश गर्नेछन्। मंसिर १७ मा नेपालले श्रीलंकाविरुद्ध खेल्दै प्रतियोगिताको थालनी गर्नेछ। नेपालले दोस्रो खेल डिसेम्बर १९ मा भुटानसँग खेल्नेछ भने २० गते तेस्रो खेल माल्दिभ्सविरुद्ध खेल्नेछ। नेपालले मंसिर २१ मा बंगलादेशविरुद्ध समूहको अन्तिम खेल खेल्नेछ।

 

प्रकाशित: १० मंसिर २०७६ ०१:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App