खेल

न्युजिल्यान्डको रबाफिलो जित

वेलिङ्टन – न्युजिल्यान्डका कप्तान केन विलियम्सनले इङ्ल्यान्डविरुद्धको पहिलो टेस्टमा हात पारेको जितलाई विशेष सफलताको रूपमा लिइएको बताएका छन्। निल वाग्नरको पाँच विकेटप्रेरित न्युजिल्यान्डले सोमबार पाँचाैं तथा अन्तिम दिनको खेलमा भ्रमणकारी टोली इङल्यान्डमाथि एक इनिङ र ६५ रनको रबाफिलो जित हात पारेको हो। यस जितसँगै न्युजिल्यान्डले २ टेस्टको  शृंखलामा १–० को अग्रता लिएको छ।

इङ्ल्यान्डक कप्तान जो रुटले भने ब्याटिङ र बलिङ दुवै पक्षमा स्वाभाविक लयअनुरूपको प्रदर्शन गर्न नसक्दा नतिजा सुम्पिन बाध्य भएको बताएका हुन्। यता न्युजिल्यान्डका कप्तान विलियम्सनले भने ६१५–९ मा पहिलो इनिङ समाप्तिको घोषणा गर्नु नै जितको लागि टर्निङ प्वाइन्ट भएको बताए।

‘टस हार्नु र पहिलो इनिङमा ३ सय ५० रन पछ्याउन  विशेष प्रदर्शनको आवश्यकता पर्छ,’ विलियम्सनले भने, ‘तर टोली अद्भुत प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।’ विजे वाट्लिङको २ सय ५  र मिचेल सान्टनरको १ सय २६ रनको मद्दतमा ६१५–९ मा पहिलो इनिङ समाप्तिको घोषणा गरेसँगै न्युजिल्यान्डले इङ्ल्यान्डमाथि पहिलो इनिङमा २ सय ६२ रनको अग्रता लिएको थियो।

५५–३ बाट पाँचौं दिनको खेल सुरु गरेको इङ्ल्यान्डलाई टेस्ट जोगाउन पूरा दिन ब्याटिङ गर्न आवश्यक थियो। एक समय १२१–४ को अवस्थामा रहेको इङ्ल्यान्डले थप ७६ रन जोड्दा अन्तिम ६ विकेट गुमाएको थियो। न्युजिल्यान्डका वाग्नरले ४४ रन खर्चंदै ५ विकेट लिएका थिए भने सान्टनरले ५३ रन खर्चंदै ३ विकेट लिएका थिए।

‘विकेट क्रमिक रूपमा आइरहेको थियो। इङ्ल्यान्डमा यस्ता खेलाडी छन् जो उत्कृष्ट ब्याटिङका साथ टेस्ट जोगाउन सक्षम छन्। तर आज हाम्रो टोलीले अब्बल बलिङ प्रदर्शनका साथ नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ,’ विलियम्सनले भने।

रुटले कमजोर ब्याटिङ प्रदर्शन हारको मुख्य कारण भएको बताए। ‘स्पष्ट रूपमा भन्नुपर्दा आज हामीले केही गलत सट खेल्यौं। यसमा सबै सचेत हुन आवश्यक छ। कसैलाई दोष दिनुभन्दा पनि हारबाट पाठ सिक्न आवश्यक छ,’ रुटले भने। दोस्रो इनिङमा इङ्ल्यान्डका जो डेन्लेले सर्वाधिक ३५ रन जोड्दा रोरी बर्नसले ३१ र जोफ्रा आर्चरले ३० रनको योगदान गरे।

शृंखलाअन्तर्गतको दोस्रो र अन्तिम टेस्ट शुक्रबार ह्यामिल्टनमा सुरु हुनेछ। ५५–३ बाट पाँचौं दिनको खेल सुरु गरेको इङ्ल्यान्डलाई टेस्ट जोगाउन पूरा दिन ब्याटिङ गर्न आवश्यक थियो। एक समय १२१–४ को अवस्थामा रहेको इङ्ल्यान्डले थप ७६ रन जोड्दा अन्तिम ६ विकेट गुमाएको थियो।

प्रकाशित: १० मंसिर २०७६ ०१:०५ मंगलबार

केन_विलियम्सन न्युजिल्यान्ड