खेल

बार्सिलोनालाई पछ्याउँदै रियल

मड्रिड– स्पेनिस लिग ला–लिगामा बार्सिलोना र रियल मड्रिडले आ–आफ्नो खेलमा जीत दर्ता गराएका छन्। बार्सिलोनाले लेगानेसलाई २–१ गोल र रियल मड्रिडले रियल सोसिडाडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।

लेगानेसलाई हराउन बार्सिलोनाले निकै संघर्ष गर्नुपरेको थियो। रेलिगेसन जोनमा रहको लेगानेसले १२औं मिनेटमा नै अग्रता लिएको थियो। खेल बराबरी गर्न बार्सिलोनाले ५३औं मिनेट कुर्नु परेको थियो।

उक्त समयमा लुईस स्वारेजले गोल गरेका हुन्। त्यस्तै वैकल्पिक खेलाडीका रुपमा छिरेका अतुर्रो भिडालले ७९ औ मिनेटमा गोल गरेपछि बार्सिलोनाले २–१ गोल अन्तरले अग्रता बनायो।

ला–लिगामा लगातार गोल गर्दै आएका लियोनल मेसि पनि लेगानेस विरुद्ध चल्न सकेनन्। खेलमा थप गोल हुन नसकेपछि बार्सिलोनाले तीन अंक खोस्न सफल भएको हो। 

यता रियलको जीतमा भने करिम बेन्जिमा, फेडरिको भाल्भर्डे र लुका मोड्रिचले गोल गरे। बेन्जिमाले ३७ औ मिनेटमा, भाल्भर्डेले ४७ औं मिनेटमा र मोड्रिचले ७४ औं मिनेटमा गोल गरेका हुन्। खेलमा अग्रता भने सोसिडाडले ने लिएको थियो। 

१३–१३ खेलबाट बार्सिलोना र रियलको समान २८ अंक रहेको छ। बार्सिलोना गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ। पराजित लेगानेस ६ अंक सहित तालिकाको पुछारमा र सोसिडाड २३ अंक सहित ५ औं स्थानमा रहेको छ। 

यता लिगको तेस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड भने ग्रानडासंग १–१ गोलको बराबरीमा रोकिएको छ। एथ्लेटिकोका लागि लाडी डोस सान्तोसले ६०औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए।

तर त्यसको ६ मिनेट पछि नै ग्रानडाले सान्चेसको गोल मार्फत बराबरी गरेको थियो। खेलमा थप गोल हुन सकेन र खेल बराबरीमा सकिएको थियो। १४ खेलबाट एथ्लेटिको २५ अंक सहित तेस्रो स्थानमा रहेको छ भने समान खेलबाट ग्रानडा २१ अंक सहित छौटौं स्थानमा रहको छ। 

 

प्रकाशित: ८ मंसिर २०७६ ०८:३५ आइतबार

ला–लिगा बार्सिलोना रियल_मड्रिड