खेल

पिङ्क बल खेल्न कठिन

कोलकाता – भारतीय कप्तान विराट कोहलीले पिङ्क बलबाट आफूहरूले डे–नाइट क्रिकेटमा डेब्यु गर्न लागेको भए पनि यसको निरन्तरता हुन नसक्ने बताएका छन्। भारतले शुक्रबार कोलकातामा बंगलादेशविरुद्धको खेलबाट पिङ्क बलमा खेल सुरु गर्दै छ। दिनको समयबाहेक भारतमा बिरलै रातको खेलका टिकट बिक्री हुने भए पनि पिङ्क बलमा हुने डे–नाइट क्रिकेट खेलका लागि बिहीबार नै सबै टिकट बिक्री भइसकेका छन्। कप्तान कोहलीले अन्य बलमा जस्तो पिङ्क बलमा खेल्नु त्यति सहज नहुने बताएका छन्।

‘मेरो विचारमा अन्य समयजस्तो शुक्रबार हुने छैन,’ कोहलीले भने, ‘पहिलो सेसनको सुरुआती समयमा खेलाडी केही नर्भस हुनेछन्।’ कोहलीले टेस्ट क्रिकेटको विशेषता एक सेसनमा ब्याट्सम्यान जोगिने प्रयास गर्ने र बलरले आउट गर्ने प्रयास हुने बताए। त्यसले टेस्ट क्रिकेटमा थप रोमाञ्चकता प्रदान गर्ने कोहलीको भनाइ छ। डे–नाइट टेस्टको प्रमुख उद्देश्य मैदानमा दर्शकको उपस्थिति बढाउने र लामो फरम्याटमा पनि टिभीका दर्शक बढाउने उद्देश्य रहेको छ।

डे–नाइट क्रिकेट पहिलो पटक सन् २०१५ मा घरेलु टोली अस्ट्रेलियाले एडिलेड न्युजिल्यान्डसँग खेलेको थियो। त्यसै गरी पछि इङ्ल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिजले पनि कम्तीमा एक दिन डे–नाइट टेस्ट खेलिसकेका छन्। तर, भारतले खेलेको थिएन। गत वर्ष भारतीय क्रिकेट बोर्डले पनि एडिलेडमा डे–नाइट क्रिकेट खेल्न अस्वीकार गरेको थियो।

‘अत्यधिक रूपमा सिसा र फ्याब्रिकबाट कभर गरिएको बल हक्की बलजस्तै हुनेछ। त्यसैले ब्याटिङसँगै फिल्डङ गर्न पनि कठिन हुनेछ।’

भारतीय कप्तान कोहलीले आफूहरूको चाहाना पनि पिङ्क बलमा खेल्ने रहेको खुलासा गरे। भारतले दुई खेलको टेस्ट शृंखलामा १–० को अग्रता बनाइसकेको छ। भारतले इन्दौरमा भएको पहिलो टेस्ट तीन दिनभित्रै आफ्नो बनाएको थियो। शुक्रबारदेखि सुरु हुने नयाँ सुरुआतमा पनि भारत आफ्नो लय जारी राख्ने लक्ष्यमा हुनेछ। यता, बंगलादेश पनि पिङ्क बलमा आफ्नो डेब्यु गर्दै छ।

बंगलादेशका प्रधानमन्त्री र पश्चिम बंगालका मुख्यमन्त्रीले स्टेडियमको घन्टी बजाउँदा पिङ्क बलको खेल सुरुआत हुनेछ। शुक्रबारको खेललाई कोहलीले सन् २०१६ को ट्वान्टी–२० विश्वकपमा भारत र पाकिस्तानबीचको खेलको संज्ञा दिएका छन्। उक्त खेलमा अत्यधिक दर्शकका साथै पूर्वक्रिकेटर एवम् पाकिस्तानका वर्तमान प्रधानमन्त्री इमरान खानको पनि उपस्थिति रहेको थियो। भारतीय कप्तान कोहलीले पिङ्क बलमा खेल्न निकै कठिन हुने दोहो-याएका छन्।

‘म एकदम अचम्मित छु। दिनमा रातो बलमा खेलेजस्तै पिङ्कमा खेल्न सहज हुनेछैन,’कोहलीले भने,‘अत्यधिक रूपमा सिसा र फ्याब्रिकबाट कभर गरिएको बल हक्की बलजस्तै हुनेछ। त्यसैले फिल्डङ गर्न पनि कठिन हुनेछ।’ बंगलादेशका कप्तान मोमिनुल हकले पनि कृत्रिम प्रकाशसहित पिङ्क बलमा खेल्नु निकै चुनौतीपूर्ण हुने बताएका छन्।

‘कृत्रिम प्रकाशमा अत्यधिक कभर गरिएको बलमा खेल्नु ब्याट्सम्यानका लागि चुनौती हो,’ मोमिनुलले भने, ‘फिल्डरका लागि पनि उत्तिकै कठिन हुनेछ। साथै प्रत्येक बलमा ब्याट्सम्यान शतप्रतिशत बलमा फोकस गर्नुपर्नेछ।’

प्रकाशित: ६ मंसिर २०७६ ०१:१८ शुक्रबार

पिङ्क_बल डे–नाइट_क्रिकेट