खेल

पोखरा रंगशाला निर्माणको चटारो (फोटो फिचर)

पोखरा– पोखरा रंगशाला फुटबल मैदानको दायाँ वायाँ प्यारापिट जडान (ग्राण्डस्ट्याण्ड इन्स्टलेशन) सुरु गरिएको छ। आईतबार र सोमबार गरी १५ कन्टेनर सामान आईपुगेपछि दुई फ्रान्सेली प्राविधिकको उपस्थितिमा प्यारापिट जडानको काम सुरु भएको हो।

पहिलो चरणमा फुटबल मैदानको पुर्व र पश्चिम तर्फ प्यारापिट जडान गरिने छ। मंसिर १५ गते पोखरा रंगशाला फुटबल मैदानमा १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल प्रतियोगिता हुदैंछ। त्यसको तयारी स्वरुप प्यारापिट जडान कार्य शुरु गरिएको निर्माण कम्पनीले जनाएको छ।

फुटबल मैदान निर्माण कम्पनी भारतीय ग्रेट स्पोर्टस प्रालि तथा एम.ए कन्स्ट्रक्सन प्रालिको संयुक्तमा गएको फागुनदेखि फुटबल मैदान निर्माण कार्य सुरु गरिएको थियो।

कम्पनीका प्रोजेक्ट म्यानेजरको रुपमा रहेको दिपक बरालका अनुसार एकसाताभित्रमा प्यारापिट जडान गरिसकिने छ। ५ हजार ४ सय दर्शक क्षमताको प्यारापिट जडान गरिने छ।

प्रतियोगिताको लागि ८ देखि १० हजार सिट प्यारापिट क्षमतको बनाईने लक्ष्य छ। ‘८ देखि १० हजार सिट क्षमताको प्यारापिट निर्माण हुन्छ’ राष्ट्रिय खेलकुद परिषदका बोर्डसदस्य राजेश गुरुङले भने,‘प्यारापिटको सामान आउँदै छ।’

मैदान भने अझै तयार भईसकेको छैन। मैदानको लागि प्राविधिकहरुले आवश्यकता अनुसार पानी, मलको प्रयोग गर्दै आएका छन। फुटबल प्रतियोगिता सुरु हुन केही दिनमात्रै बाँकी रहदाँ काम भने रातदिन भईरहेको छ।

यद्यपी दुबोकै कारण पोखरा रंगशालामै महिला फुटबल प्रतियोगिता हुनेमा अझै अन्यौल कायमै छ। कम्पनीले अहिले १२ वटा शौचालय निर्माण गरिएको छ। चेन्जिङ रुम र अन्य कक्ष भने तयार हुने अवस्था छैन। चेन्जिङ रुम भने बहुउद्देश्यीय कभर्ड हललाई प्रयोग गरिने बोर्ड सदस्य गुरुङले बताए।

मैदानको चारैतिर रहेको एथलेटिक्स ट्रयाकमा भने सिन्थेटिक हाल्ने काम अन्तिम चरणमा छ। कालो सिन्थेटिक ट्रयाक हालिसकेपछि फाईनल टच दिन कम्पनीले रातो ट्रयाक हालेको छ। ट्रयाकमाथि अब लाईनिङ गर्ने काम बाँकी छ।

लाईनिङ गरेपछि ट्रयाकको काम भने पुरा हुने कम्पनीले जनाएको छ। कम्पनीले गएको फागुनदेखि पोखरा रंगशाला फुटबल मैदान निर्माण कार्य सुरु गरेको हो। एक अर्ब २८ करोड रुपैयाँको लागतमा निर्माण सुरु गरिएको हो।

तस्विरहरु– उमेश पुन

प्रकाशित: ५ मंसिर २०७६ १०:२६ बिहीबार

पोखरा_रंगशाला प्यारापिट_जडान