खेल

‘नेपालगञ्ज म्याराथनमा जुम्लाको नाम उचो बनाउनु’

विदाइ पनि सामुहिक फोटो खिचाउँदै। तस्बिरः नागरिक

जुम्ला- विश्व किर्तिमानी धावक हरीबहादुर रोकायाको मुहारमा आशा र निराशा दुबै झल्कन्थ्यो। उनी आफुसँगै प्रशिक्षण लिइरहेका खेलाडीको विदाइ गर्दा निराश देखिन्थे। तर खेलाडीले म्याराथनमा देखाउने प्रतिभा प्रति निकै आशावादी।

बुधबार नेपालगञ्ज म्याराथनमा सहभागि हुने धावक धाविकालाई जुम्लाबाट विदाइ गर्दा उनी निकै भावुक देखिए। उनले धावक, धाविकलाई भने्, ‘जुम्लाको नाम उचो बनाउनु। सकेसम्मको खेल प्रतिभा देखाउनु।’ धावक रोकायाको यो वाक्यले सबै खेलाडीलाई निकै भावुक बनायो। सँगै आत्मबल उच्च बनायो पनि। २१ किलोमिटर दौडमा सहभागी हुने धाविका मञ्जुले भनिन्, ‘अहिलेसम्म दौड प्रतियोगितामा असन्तुष्ट बनेको छैन्। यो पटक पनि भरपुर प्रयास गछौँ। प्रतियोगितामा बिजेता बन्ने सबैको इच्छा हुन्छ नै, तर हामी आफुले प्रशिक्षणका क्रममा सिकेका सबै अनुभव प्रयोग गर्नेछौँ।’

यहि मंसिर ७ गते हुने नेपालगन्ज म्याराथनमा सहभागि हुने जुम्लाका नौ जना खेलाडीलाई विदाइका क्रममा यो संवाद भएको थियो। खेलाडीलाइ राज्यले चिनेको छैन्, तर खेल प्रतिभा मार्फत कर्णालीको नाम उचो बनाउने खेलाडीको प्रण छ। धाविका राममाया बुढाले भनिन्,‘ खेलमा जीतहार हुन्छ नै, तर जित्ने अधिकतम प्रयत्न हुनेछ। ’कर्णाली खेलकुद क्लब जुम्लाले पाँचवटा विधामा सहभागीताको लागि नौ जना खेलाडीहरुलाई पठाएको हो। खेलाडीले एक क्वीन्टल १० केजी सिमि बोकेर नेपालगञ्ज प्रस्थान गरेका छन्। प्रतियोगिता हुनु पुर्व उनीहरुले सिमि बेच्नेछन्। 
कर्णाली स्पोर्टस क्लवका अध्यक्ष सरोज शाही खेलाडीको उत्थानको लागि सिमि माग भइआएकोले खेलाडीसँगै सिमि पठाएको जानकारी दिए। खेलाडीको खर्च व्यवस्थापनका लागि जुम्लामा सिमि खेती गरिएको थियो।

नेपालगञ्जमा हुने ४२ किलोमिटरमा पारसनाथ योगी, २१ किलोमिटरमा राममाया बुढा र मन्जु रावत, १० किलोमिटरमा विरेन्द्र भट्टराई, विनोद सुनार, र हरिशंकर घर्ती, पाँच किलोमिटरमा विकास बुढा र नारायण रावत तथा तीन किलोमिटरमा निशा पाण्डेलाई बिदाइ गरिएको क्लबका अध्यक्ष सरोज शाहीले बताए। धावक हरीबहादुर रोकायाले प्रशिक्षण दिएका यि सबै खेलाडी विभिन्न दौडमा सहभागि भइसकेका छन्। यहाँ उत्पादित खेलाडी रित्तो हात नर्फने धावक हरीबहादुर रोकाया बताउँछन्।

क्लबका संरक्षक तथा जिल्ला खेलकूद विकास समितिका प्रशिक्षक अन्तर्रा्ष्ट्रिय धावक हरि बहादुर रोकाया, जिल्ला एथ्लेटिक्स संघका सदस्य मधुराज न्यौपाने र यस क्लवका सदस्य महेन्द्र कार्कीले संयुक्त रुपमा खेलाडीहरुको बिदाइ गरेका थिए। राममाया र मन्जु गोल्डेन ट्रेल सिरिजमा सहभागी भएका खेलाडी हुन भने पारस लामो दुरीका लागि नयाँ धावक हुन्। अरु खेलाडीमा कोही नयाँ र पुराना छन्। 
सद्भावको सहर नेपालगन्जलाई अरू सहरसँग जोड्दै विश्वमा चिनाउने अभियानका लागि आयोजना हुने नेपालगञ्ज म्याराथन विगत चार वर्षदेखि क्रियटिभ ह्यान्ड्सले निरन्तर आयोजना गर्दै आएको छ।

जुम्लामा धावक हरीबहादुर रोकायासँग झण्डै ४० जना प्रशिक्षार्थीले दौड प्रशिक्षण लिइरहेका छन्। उनीहरुको क्षमता अनुसार प्रतियोगितामा पठाउने गरिएको छ। धावक रोकाया भन्छन्, ‘यहाँबाट गएका सबै खेलाडीले कुनै न कुनै स्थान ल्याउनेमा ढुक्क छु।’

प्रकाशित: ४ मंसिर २०७६ ०९:४२ बुधबार

म्याराथन धावक