खेल

अंक खोस्ने प्रयासमा नेपाल

काठमाडौ – नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले मंगलबार विश्वकप छनोट २०२२ को पहिलो होम गेममा कुवेतको सामना गर्दा कम्तीमा अंक खोस्नका लागि खेल्ने बताएका छन्।

‘हामी कुवेतविरुद्ध अंक खोस्ने प्रयास गर्नेछांै,’ किरणले भने, ‘टोलीको अहिलेको आवश्यकता पनि अंक जोड्नु नै हो। सोही रणनीतिअनुसारको प्रदर्शन गर्छौं।’

समूहका ४ वटै अवे खेल खेलिसकेको नेपालले पहिलो होम खेल यसअघि दशरथ रंगशालामा खेल्ने तालिका थियो। रंगशालाको पुनर्निर्माण सम्पन्न नभएकाले नेपालको होम खेल तटस्थ स्थान (भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा) मा आयोजना हुन लागेको हो। यसअघि एसियाली  फुटबल संघ (एएफसी) र फिफाले दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार नबनेपछि तटस्थ स्थलमा खेल्न एन्फालाई निर्देशन दिएको थियो। सोहीअनुसार नेपालले भुटान फुटबल संघलाई पत्राचार गर्दै खेल आयोजनका लागि अपिल गरेको थियो।

छनोटको सबै अवे खेल खेलिसकेको नेपालले चार खेलबाट ३ अंक जोडेको छ। समूह ‘बी’ मा नेपाल समूहको चौथो स्थानमा छ। कुवेतसँग अवे खेलमा ७–० को फराकिलो अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई उसैको मैदानमा २–० ले हराएको थियो। तेस्रो खेलमा जोर्डनलाई ३–० नतिजा सुम्पिएको नेपाल एसियाली पावर हाउस अस्ट्रेलियासँग ५–० ले पराजित भएको थियो।

 

 

प्रकाशित: ३ मंसिर २०७६ ०२:१६ मंगलबार

कप्तान गोलकिपर विश्वकप छनोट