खेल

सागको प्रसारण अधिकार एनके मिडियालाई

काठमाडौं – नेपालमा आयोजना हुने १३औं सागबाट टेलिभिजन प्रसारण अधिकारसम्बन्धी सम्झौता गरिएको छ। पहिलोदेखि १२औं सागसम्म टेलिभिजन प्रसारण अधिकार कसैलाई दिइएको थिएन।

सोमबार दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले तीन पक्षसँग टेलिभिजन सम्झौतासम्बन्धी पत्रमा हस्ताक्षर गरेको छ। एसएओसी र भारतको टेलिभिजन कम्पनी एनके मिडिया भेन्चर प्रालिबीच प्रसारण अधिकारसम्बन्धी सम्झौता भएको हो।

एसएओसी तथा नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ र एनके मिडिया भेन्चरका सिएमजी प्रभात रञ्जन मल्लिकले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार प्रसारण अधिकारबापत उक्त कम्पनीले एसएओसीलाई ८ करोड रुपैयाँ प्रदान गर्नेछ। त्यसबापत एनके मिडियाले सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण गर्नेछ। त्यसै गरी एनके मिडियाले ल्याउने विज्ञापनको ५० प्रतिशत एसएओसीले पाउनेछ।

एनके मिडियाले नेपाली दर्शकका लागि नेपाल टेलिभिजनमार्फत सबै खेलको प्रत्यक्ष प्रसारण गर्नेछ। यसका लागि एनके मिडियाले नेपाल टेलिभिजनसँग सहकार्य गर्नेछ। एनके मिडियाले सहभागी सातै राष्ट्रमा १५ टिभी च्यानलद्वारा साग खेलकुदको प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ।
दोस्रो सम्झौता एसएओसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच भयो। जसअनुसार एसएओसीले प्रसारण अधिकार र विज्ञापनबापत पाउने रकमको ५० प्रतिशत राखेपले प्राप्त गर्नेछ। राखेप आफंैले ल्याउने विज्ञापनमा भने कसैको अधिकार हुने छैन।

तेस्रो सम्झौता एसएओसी र एजेन्ट कम्पनी फिस्कल एजेन्टका प्रतिनिधि प्रियानाथ चट्टोपाध्यायसँग भएको थियो। उक्त एजेन्ट कम्पनीले प्रसारण र विज्ञापनबापतको कमिसन प्राप्त गर्ने छ। सम्झौता कार्यक्रममा नेपाल ओलम्पिक कमिटी (एनओसी) तथा दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले यस प्रसारण सम्झौतालाई ऐतिहासिक भनेका छन्।

‘साग खेलकुद नेपालबाटै सुरु भएको हो र साग खेलकुदको प्रसारण अधिकारको प्रारम्भ पनि नेपालबाट नै हुँदै छ। ओलम्पिकले पनि खेलको प्रसारण अधिकार बिक्री गरेपछि फड्को मारेको हो। अहिले ओलम्पिक आयोजनाका लागि कडा प्रतिस्पर्धा हुन्छ। एसियाली खेलकुदमा पनि प्रसारण अधिकारका लागि हानाथाप हुन्छ। अब नेपालबाट साग खेलकुदमा पनि यसको सुरुआत भएको छ।’

राखेपका सदस्यसचिव रमेश सिलवालले पनि यो एक ऐतिहासिक सम्झौता भएको कुरा दोहो-याए। ‘यो एउटा नौलो प्रयास हो। नेपालमा भएको साग खेलकुद हामीकहाँ मात्र सीमित नहोस् भन्ने पनि यस सम्झौताको उद्देश्य हो,’ सदस्यसचिव सिलवालको भनाइ छ।

यसै गरी एनके मिडियाका सिएमडी मलिकले सागजस्तो प्रतियोगिताको प्रसारण गर्न आफ्नो कम्पनीलाई विश्वास गरेकोमा नेपाल सरकार र दक्षिण एसियाली ओलम्पिक काउन्सिललाई धन्यवाद दिँदै सो विश्वासमा न्याय गर्ने बताए। उनले सातै राष्ट्रमा १३औं सागको प्रत्यक्ष प्रसारण हुने बताए। सागमार्फत आफ्नो संस्थाले नेपालका बारेमा सकारात्मक सबै कुरा विश्वभर फैलाउने पनि उनले बताए।

प्रसारण अधिकार
प्रसारण अधिकारको सम्झौतापछि अब कुनै पनि मिडियाले भिडियोको प्रत्यक्ष प्रसारण गर्न पाउने छैनन्। एनके मिडियाका सिएमडी मलिकले खेललगत्तै मिडियाका लागि भिडियोहरू उपलब्ध गराउने बताए। त्यस्तै एक्रिएडेटेड फोटो पत्रकारले भने फोटो खिच्न पाउने मलिकले बताए।

 

 

प्रकाशित: २ मंसिर २०७६ ०४:३३ सोमबार

टेलिभिजन_प्रसारण साग मिडिया एनके_मिडिया