खेल

नेपालको खराब सुरुआत

काठमाडौं – नेपाली युवा टोलीले यु–१९ च्यालेन्जर्स क्रिकेट सिरिजमा खराब सुरुआत गरेको छ। हैदरबादस्थित जिमखाना मैदानमा भएको पहिलो खेलमा नेपालले भारतको ‘सी’ टोलीसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको हो।  नेपालले प्रस्तुत गरेको १ सय १५ रनको लक्ष्य भारतले मात्र २२ ओभरमा बिनाविकेट क्षति पूरा गरेको हो।

भारतको सहज जितमा अर्जुन आजादले सर्वाधिक अविजित ६७ र दिभ्यनाश अजयकुमार सक्सेनाले अविजित ५२ रनको योगदान गरे। पहिलो विकेटका लागि यी दुई ओपनरले शतकीय साझेदारी गरेका थिए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल  ३२.१ ओभरमा  मात्र १ सय १४ रन सीमित बनेको थियो। नेपालका लागि कुशल मल्लले जोडेको २६  व्यक्तिगत सर्वाधिक रन बन्यो।

भारतले आयोजना गरेको सिरिजमा नेपालसहित भारतका तीन टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। जसमा भारतको भारत ‘ए’, भारत ‘बी’ र भारत ‘सी’ टिम रहेका छन्। सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले बुधबार  भारत ‘ए’ र अन्तिम खेलमा शुक्रबार भारत ‘बी’ सँग प्रतिस्पर्धा गर्नेछ।

 

प्रकाशित: २६ कार्तिक २०७६ ०३:५१ मंगलबार

नेपाली_युवा_टोली यु–१९_च्यालेन्जर्स_क्रिकेट