खेल

नेपाल फराकिलो अन्तरले पराजित

काठमाडौं – नेपालको मिश्रित टोली भ्रमणमा रहेको मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) सँग शनिबार भएको ट्वान्टी–२० खेलमा १ सय १३ रनको फराकिलो अन्तरले पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर एमसिसीले दिएको १ सय ९० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले मात्र ७६ रन जोड्न सक्यो।

सामान्य लक्ष्यसहित जबाफी ब्याटिङ गरेको नेपालका लागि रासिद खानले सर्वाधिक १८ रन जोड्नुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। सन्दीप जोराले १६ रनको पारी खेल्दा कुशल भुर्तेल १४, भीम सार्की १३ तथा कप्तान रोहित पौडेल ६ रन बनाउँदै पवेलियन फर्किए। यस्तै अमित श्रेष्ठ र सुशन भारी समान १÷१ रनमा आउट भए। नेपालको इनिङलाई सस्तैमा समेट्ने क्रममा एमसिसीका एड योङले सर्वाधिक ३ विकेट लिए। ओलिभर हानन र एलेक्स थोम्पसनले समान २÷२ विकेट हात पार्दा एमसिसीका तीन बलरले एक÷एक विकेट आफ्नो नाममा लेखाए।

यसअघि पहिले ब्याटिङ गरेको एमसिसीका लागि विल्ली गोल्डम्यानले अर्धशतकीय इनिङ खेले। ३० बल सामना गरेका विल्लीले ४ चौका र ४ छक्का प्रहार गरेका थिए। यस्तै एड योङले ४२ रन जोड्दा मिल्स हाम्मोन्ड व्यक्तिगत ३३ रन जोड्ने क्रममा नेपाली फिल्डरबाट समातिए। एलेक्स थम्पसन २० रनमा अविजित रहे। बलिङतर्फ नेपालका रासिद खानले सर्वाधिक ३ विकेट हात पार्दा कमलसिंह ऐरी, जितेन्द्र मुखिया, अविनाश बोहरा र सुशन भारीले समान १ विकेट आफ्नो नाममा लेखाए।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुरका लागि नेपाल आएको एमसिसीले यसअघि नेपालसँग एक एकदिवसीय र तीन दिवसीय प्रथम श्रेणी क्रिकेट खेलिसकेको छ। अब नेपाल भ्रमण रहेको एमसिसीको टोली पोखरा भ्रमण गर्नेछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको तीन दिवसीयमा नेपाल २ सय ८ रनले पराजित भएको थियो। एकदिवसीयमा नेपालले भ्रमणकारी एमसिसीलाई ५ विकेटले पराजित गरेको थियो। लिगेसी भ्रमणअन्तर्गत नेपाली यु–१९ क्रिकेट टोलीसँग भएको ट्वान्टी–२० खेलमा एमसिसीले ३८ रनको जित निकालेको थियो। नेपाल भ्रमणमा रहेको एमसिसी अब दुई खेल खेल्न पोखरा भ्रमणमा निस्कनेछ। पोखरामा रहँदा एमसिसीले आमन्त्रण–११ र मुख्यमन्त्री–११ सँग दुई ट्वान्टी–२० क्रिकेट खेल्ने तालिका छ। टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर एमसिसीले दिएको १ सय ९० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले मात्र ७६ रन जोड्न सक्यो।

 

प्रकाशित: २४ कार्तिक २०७६ ०४:५४ आइतबार

भ्रमण मेरिलिबोन_क्रिकेट_क्लब पराजित