खेल

नेपाली राष्ट्रिय महिला भलिबल टोली सार्वजनिक

काठमाडौं– बंगलादेशमा आयोजना हुने पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको लागि मंगलबार नेपाली टोलीको घोषणा गरेको छ। 

नेपाल भलिबल संघ (एनभिए) ले मंगलबार अरुणा शाहीको कप्तानीमा सेन्ट्रल जोन खेल्ने १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। यसअघि राष्ट्रिय टोलीलाई सम्हाल्दै आएकी बिनिता बुढाथोकीको स्थानमा अरुणालाई नेतृत्वको जिम्मा दिइएको हो। हाल बिनिता भने बीच भलिबलका लागि विदेश भ्रमणमा रहेकी छिन्।

 बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट भलिबल संघले सेन्ट्रल जोनका लागि १२ खेलाडीको अन्तिम नामावली सार्वजनिक गरेको हो। बन्द प्रशिक्षणमा रहेकी शान्ति तामाङ, उषा भण्डारी, संगम महतो, आरती सुबेदी, हीरा केसी र शान्ति थारुले राष्ट्रिय टोलीमा स्थान बनाउन सकेनन्। 

नेपाल भलिबल संघले थाइल्यान्ड भ्रमणको क्रममा गरेको प्रर्दशनको आधारमा नेपाली टोली अन्तिम टुङ्गो लगाएको हो। मंंसिर पहिलो साताबाट नेपालमा तय भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) र एभिसी सेन्ट्रल जोनको तयारीमा रहेको नेपालले टोलीले करिब एक महिना थाइल्यान्ड भ्रमण गरेको थियो।

थाइल्यान्डको एकमहिने प्रशिक्षण सकेर नेपाली महिला टोली सोमबार मात्र स्वदेश फर्किएको छ। बंगलादेशमा आयोजना हुने प्रतियोगिता कात्तिक २१ देखि २९ सम्म सञ्चालन हुँदै छ । ढाकामा हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, अफगानिस्तान, किर्गिस्तान र माल्दिभ्सले सहभागिता जनाउँदै छन्।

५ टोलीले सहभागिता जनाउने प्रतियोगिताको पहिलो खेलमा नेपालले कात्तिक २४ गते माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । कात्तिक २५ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दा कात्तिक २६ गते किर्गिस्तान र लिगको अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशसँग कात्तिक २७ गते प्रतिस्पर्धा गर्नेछ। राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। 

मंगलबार अरुणा शाहीको कप्तानीमा सेन्ट्रल जोन खेल्ने १२ सदस्यीय नेपाली महिला भलिबल टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट भलिबल संघले सेन्ट्रल जोनका लागि अन्तिम नामावली सार्वजनिक गरेको हो।

खेल तालिका: नेपालविरुद्ध 

टोली                    मिति

माल्दिभ्स             कात्तिक २४

अफगानिस्तान      कात्तिक २५

किर्गिस्तान           कात्तिक २६

बंगलादेश               कात्तिक २७

नेपाली टोलीः अरुणा शाही (कप्तान),  प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सोफिया पुन, उषाकुमारी बिष्ट, कमला पुन, सलिना श्रेष्ठ

प्रकाशित: २० कार्तिक २०७६ ०५:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App