खेल

यु–१९ फुटबल टोली इरानतर्फ

काठमाडौं – एएफसी यु–१९ च्याम्पियनसिप छनोट खेल खेल्ने २३ सदस्यीय नेपाली युवा टोली सोमबार इरान प्रस्थान गरेको छ। इरानमा हुने समूह चरणको छनोटमा प्रतिस्पर्धा गर्न जाने २३ सदस्यीय नेपाली टोलीलाई सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो। टोलीलाई एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालगायत पदाधिकारीले बिदाइ गरेका हुन्। रेजिन सुब्बाको कप्तानीमा रहेको नेपाल समूह ‘डी’ मा छ।

समूह ‘डी’ मा आयोजक इरानसँगै युनाइटेड अरब इमिरेट्स (युएई) र किर्गिस्तान पनि रहेका छन्। छनोट खेलमा नेपालले पहिलो खेल युएईसँग खेल्दै सुरुआत गर्नेछ। कात्तिक २० गते हुने पहिलो खेलपछि नेपालले दोस्रो खेल कात्तिक २२ मा आयोजक इरानसँग खेल्नेछ। समूहचरणको अन्तिम खेलमा नेपालले किर्गिस्तानसँग कात्तिक २४ मा खेल्नेछ।

एसियाली फुटबल महासंघ (एएफसी)ले एसियाका ४६ राष्ट्रलाई विभिन्न ११ समूहमा विभाजन गरी छनोट खेल खेलाउन लागेको हो। उज्बेकिस्तानमा आयोजना हुने प्रतियोगितामा प्रत्येक समूहका विजेतासहित ४ उत्कृष्ट उपविजेताले स्थान बनाउनेछन्। 

एएफसी यु–१९ छनोटका लागि नेपाली टोलीः

गोलकिपरः विशाल सुनार, रोहित कार्की, पुजन होना

रक्षकः विशाल बस्नेत, सन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, नवीन गुरुङ, रोशन दोङ, विकाश खवास, योगेश गुरुङ, निराजन महर्जन

मिडफिल्डरः दर्शन गुरुङ, रञ्जन पुन, आकाश बुढामगर, जय गुरुङ, मनीष थापा, अनील महर्जन, दिनेश हेम्जन

स्ट्राइकरः मनीष डाँगी, राजीव लोप्चन, रेजिन सुब्बा (कप्तान), दीपेश आलेमगर

एएफसी यु–१९ छनोटःनेपालविरुद्ध

देश मिति

युनाइटेड अरब इमिरेट्स (युएई) कात्तिक २०

इरान कात्तिक २२

किर्गिस्तान कात्तिक २४

प्रकाशित: १९ कार्तिक २०७६ ००:५५ मंगलबार

एएफसी_यु–१९ फुटबल