खेल

नेपाली फुटबल टोली म्यानमार प्रस्थान

काठमाडौं – म्यानमारसँग बिहीबारलाई तय भएको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आइतबार प्रस्थान गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एक कार्यक्रमको आयोजना गरी मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीलाई एन्फा परिसरमा बिदाइ गरेको हो। एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले शुभकामनासहित नेपाली टोलीलाई बिदाई गरेका थिए। एन्फा अध्यक्ष शेर्पाले लामो समयको प्रतिक्षापछि नेपालले मंसिर ३ गते घरेलु मैदानमा घरेलु समर्थकमाझ कुवेतसँग खेल्ने बताए।

त्यसका लागि दशरथ रंगशाला तयार भएको बताए। ‘भूकम्पपछि नेपालले आफ्ना दर्शक माझ खेल्ने अवसर पूरा हुँदै छ,’ अध्यक्ष शेर्पाले भने, ‘म्यानमारसँगको खेलमा सुखद नतिजा निकालेर आउनुस्। मनोबल उचो बनाउनुस्। दशरथ रंगशाला कुवेतसँग खेल्नका लागि तयार भइसकेको छ। लामो समयको प्रतिक्षा अब समाप्त हुँदै छ।’

मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक योहान कालिनले दुई नयाँ अनुहारलाई स्थान दिँदै शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका थिए। जसमा भरत खवासले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्। यसअघि कुवेतसँगको मैत्रीपूर्ण खेलपछि भरत विभागीय तालिमका कारण टोलीमा समावेश भएका थिएनन्।

त्यसपश्चात भरत राष्ट्रिय टिमबाट बाहिर रहँदा नेपालले विश्वकप छनोटका ४ खेल र ३ मैत्रीपूर्ण खेल खेलिसकेको छ। नेपाली टोलीमा सुवास गुरुङ र मिक्चेन तामाङले स्थान बनाएका छन्। नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द, विशाल राई र हेमन गुरुङ मैत्रीपूर्ण खेलका लागि टोलीमा समावेश भएका छैनन्।

कतारमा आयोजना हुने फिफा विश्वकप सन् २०२२ छनोटअन्तर्गत समूह चरणको पाँचौं खेलमा नेपालले कुवेतलाई आतिथ्यता गर्दै मंसिर ३ गते दशरथ रंगशालामा छनोट खेल खेल्दै छ। म्यानमारसँगको मैत्रीपूर्ण खेललाई कुवेतसँगको तयारीको रूपमा हेरिएको छ। विश्वकप छनोटको समूह ‘बी’ मा रहेको नेपालले चार खेलबाट ३ अंक जोडेको छ।

नेपाल समूहको चौथो स्थानमा छ। सम्पन्न चार खेलमध्ये नेपालले चाइनिज ताइपेइविरुद्ध उसैको मैदानमा २–० को जित निकालेको थियो भने कुवेतलाई ७–०, अस्ट्रेलियालाई ५–० र जोर्डनलाई ३–० को नजिता सुम्पिएको थियो।  

म्यानमारविरुद्ध नेपाली टोलीः
गोलकिपरः विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने
रक्षकः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डरः सुनील बल, रवी पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिक्चेन तामाङ
स्ट्राइकरः भरत खवास, विमल घर्तिमगर, अविशेक रिजाल, नवयुग श्रेष्ठ

नेपालले म्यानमारसँग बिहीबारलाई मैत्रीपूर्ण खेल खेल्दै छ। उक्त मैत्रीपूर्ण खेललाई विश्वकप छनोटअन्तर्गत घरेलु मैदानमा कुवेतसँग हुने खेलको तयारीको रूपमा हेरिएको छ।

प्रकाशित: १८ कार्तिक २०७६ ०६:२२ सोमबार

मैत्रीपूर्ण_खेल फुटबल_टोली म्यानमार