खेल

ग्वार्डिओलाद्वारा क्लोपको समर्थन

लन्डन – लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले इङ्लिस प्रिमियर लिगका शीर्ष क्लबहरूको खेल तालिका निकै व्यस्त भएको र त्यसले समस्या निम्त्याउँछ भन्दै दिएको प्रतिक्रियाको समर्थन म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले गरेका छन्।

क्लोपले लगातार खेलहरू खेल्नु पर्दा टोली छनोटमै कठिनाई हुने भन्दै खेलतालिकाको आलोचना गरेका थिए। लिभरपुलले डिसेम्बरमा खेल्ने एस्टन भिल्लाविरुद्धको इङ्लिस लिग कपको क्वार्टरफाइनल र कतारमा हुने क्लब विश्वकपको खेल जुधेको छ।

‘म योर्गानको कुरामा सहमत छु,’ग्वार्डिओलाले भने, ‘यसको समाधान भनेकै कम खेल हो। कम खेल, कम प्रतियोगिता भएमा खेलाडीले पनि आरामका लागि पर्याप्त समय पाउँछन्। क्रिसमसमा हामीले डिसेम्बर २७ र २९ मा खेल्नुपर्छ। यो सधैं उठ्ने विषय हो। युइएफएसँगको बैठकमा सधैं यो कुराहरू उठ्नेगर्छ। यस्तो अवस्थामा एकले अर्काको समर्थन गर्नुपर्छ।’

सिटीले पछिल्ला दुई सिजनमा १ सय १८ खेल खेलिससकेको छ। यसक्रममा टोलीले पाँच घरेलु उपाधि जितेको थियो। ग्वार्डिओलाले नियमित खेलहरूका कारण नियमित लाइनअफ परिवर्तन गर्नुपर्ने भएकाले त्यसले टोलीको प्रदर्शन खस्कने बताए। ‘म एल्के गुन्डोगान, केभिन डी ब्रुयना र डेविड सिल्भालाई लिग कपमा खेलाउन रुचाउन्नँ,’ग्वार्डिओलाले भने,‘सबै शीर्ष क्लबले प्रमुख खेलाडीलाई सबै खेलमा खेलाउँदैनन्।’ एएफपी

प्रकाशित: १७ कार्तिक २०७६ ०६:०० आइतबार

योर्गान_क्लोप पेप_ग्वार्डिओला प्रशिक्षक