खेल

बर्नमाउथसँग युनाइटेड स्तब्ध

म्यानचेस्टर – जोस्वा किङको निर्णायक गोलको मद्दतमा शनिबार बर्नमाउथले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। बर्नमाउथको घरेलु मैदान भाइटालिटी स्टेडियममा भएको खेलमा भ्रमणकारी टोली युनाइटेडले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा अंक सुम्पिन बाध्य भएको हो।

सुरुआतबाट आक्रामक देखिएको युनाइटेडले घरेलु टोली बर्नमाउथको बलियो रक्षापंक्तिलाई चिर्न सकेन। काउन्टरमा बर्नमाउथका किङले ४५ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि युनाइटेड खेलमा फर्किन निकै संघर्ष गरे पनि सफल हुन सकेन। शनिबारको जितसँगै बर्नमाउथले पछिल्ला पाँच खेलमध्ये पहिलो जित निकालेको छ।

११ खेलबाट १६ अंक जोड्न सफल बर्नमाउन छैठौ स्थानमा उक्लिएको छ। पराजित युनाइटेड भन्दा ३ अंकले अगाडि रहेको हो। युनाइटेडको समान खेलबाट १३ अंक भएको छ। खेलमा युनाइटेडले अधिकांश समय बल नियन्त्रमा राखे पनि पाएका अवसर सदुपयोग गर्न असफल भएको थियो।

कठिन प्रतिद्वन्द्वी युनाइटेडलाई हराएको बर्नमाउथले आगामी शनिबार न्युक्यासलको आतित्थ्यमा आफ्नो १२ औं खेल खेल्नेछ भने पराजित युनाइटेडले १० नोभेम्बरमा ब्राइटनसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १७ कार्तिक २०७६ ०४:०६ आइतबार

म्यानचेस्टर बर्नमाउथ युनाइटेड