खेल

अस्ट्रेलियाद्वारा शृंखला क्लिनस्विप

मेलबर्न – उत्कृष्ट लयमा रहेका डेविड वार्नरले तेस्रो खेलमा पनि अर्धशतकीय इनिङ खेलेपछि अस्ट्रेलियाले शुक्रबार श्रीलंकासँगको तेस्रो तथा अन्तिम ट्वान्टी–२० खेलमा जित निकाल्दै शृंखला क्लिनस्विप गरेको छ। मेलबर्नमा भएको खेलमा सात विकेटले जित निकाल्दै घरेलु टोली अस्ट्रेलियाले तीन खेलको शृंखला ३–० ले आफ्नो पक्षमा पारेको हो।

अस्ट्रेलियाले पहिलो खेलमा १ सय ३४ रन र दोस्रो खेलमा ९ विकेटको रबाफिलो जित निकालेको थियो। श्रीलंकाले दिएको १ सय ४३ रनको लक्ष्य अस्ट्रेलियाले १७.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो। अस्ट्रेलियाको जितमा वार्नरले अविजित रहँदै ५७ रनको अर्धशतकीय इनिङ खेले। वार्नरले पहिलो खेलमा शतक र दोस्रो खेलमा पनि अर्धशतक बनाए।

चौका प्रहार गर्दै तेस्रो खेल जिताएका वार्नरले ५० बलमा ४ चौका र एक छक्का प्रहार गरे। पहिलो विकेटका लागि वार्नर र कप्तान एरोन फिन्चले ६९ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई गतिलो सुरुआत दिलाएका थिए। ८५ रन जोड्दा स्टिभ स्मिथलाई दोस्रो विकेटको रूपमा गुमाएको अस्ट्रेलियाले थप १४ रन जोड्दा तेस्रो विकेट पनि गुमायो। चौथो विकेटका लागि वार्नर र एस्टन टर्नरले अविजित ४६ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई सहज जिततर्फ डोहोर्‍याएका थिए।

शृंखलाका तीन वटै खेलमा अविजित रहेका वार्नरले कुल २ सय १७ रन जोडे। कप्तान आरोन फिन्च २५ बलमा १ चौका र ३ छक्कासहित ३७ रन बनाउँदा स्टेभन स्मिथ १३ रनमा आउट भए। एस्टन टर्नर २२ रनमा अविजित रहँदा दुई छक्का प्रहार गरे। श्रीलंकाका कप्तान लासिथा मलिंगा,लाहिरु कुमारा र नुवान प्रदीपले समान १/१ विकेट लिए। 

‘हामीले शृंखलाको सुरुआती खेलबाटै उत्कृष्ट प्रदर्शन गर्‍यौं, जुन अन्तिम खेलसम्म कायम रह्यो,’अस्ट्रेलियाका कप्तान एरोन फिन्चले भने, ‘पछिल्लो २ खेलमा बलरहरूको प्रदर्शन अद्भूत रह्यो।’ त्यसअघि कुशल परेराको अर्धशतकीय इनिङप्रेरित श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४२ रनको योगफल बनाएको थियो।

परेराले ४५ बलमा ५७ रन जोड्दा ४ चौका र १ छक्का प्रहार गरेका थिए। त्यस्तै आभिस्का फर्नान्डोले २० रनको योगदान गरे। अस्ट्रेलियाका मिचेल स्टार्क, प्याट कमिङ्स र केन रिचार्डसनले समान २/२ विकेट लिएका थिए। एएफपी

प्रकाशित: १६ कार्तिक २०७६ ००:५७ शनिबार

अस्ट्रेलिया क्लिनस्विप श्रीलंका