खेल

साकिबलाई कारबाही गरिने

ढाक – बंगलादेशका क्रिकेट अधिकारीले शनिबार सम्झौताविपरीत कार्य गरेको भन्दै अलराउन्डर साकिब अल हसनविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढ्ने बताएका छन्।

साकिबले हालै बंगलादेशी टोलीले पारिश्रमिक वृद्धि र सेवा सुविधाको माग राख्दै आन्दोलन गर्दा त्यो टोलीको नेतृत्व लिएका थिए। तर उनले मंगलबार बंगलादेशी राष्ट्रिय टोलीको पुरानो प्रायोजक ग्रामिनफोनसँग प्रायोजन सम्झौता गरेका थिए। यद्यपि सम्झौता रकम र अवधिका बारेमा भने केही खुलाइएको छैन।

‘हामीले साकिबको सम्झौताले राष्ट्रिय टोली र उनीबीचको सम्झौता तोडेको हुनुपर्छ,’ बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) का प्रमुख कार्यकारी अधिकृत निजामुद्दीन चौधरीले भने। बिसिबीका अध्यक्ष नाजमुल हसनले साकिब र फोन कम्पनीसँग जरिवाना भराउने बताए।

‘हामी कानुनी लडाइँ लड्नेछांै। कसैलाई पनि कानुनी प्रक्रियाबाहिर जाने छुट छैन। हामी दुवै पक्षमाथि जरिवानाको सजाय सुनाउन सक्छांै,’ हसनले भने, ‘यो सरासर सिनियर खेलाडीले राष्ट्रिय टोली र क्रिकेट बोर्डभन्दा म माथि हँु भन्ने प्रमाण हो। यस्तोमा उनीमाथि थप कारबाही हुन सक्छ।’

उक्त फोन कम्पनीले २००९ देखि २०११ मा बंगलादेशी राष्ट्रिय क्रिकेट टोलीलाई प्रायोजन गरेको थियो। हसनले साकिबले हालै गरको कार्यको पनि विरोध गरे। ‘हामीले घरेलु मैदानमा इङ्ल्यान्ड र अस्ट्रेलियालाई हरायौं। अहिले हामी अफगानिस्तानसँग निराश भयांै। टोलीले साकिबकै नेतृत्वमा नतिजा सुम्पिएको हो। त्यसैले सो हारको जिम्मेवार उनी पनि हुन्,’ हसनले भने, ‘हारको समीक्षा गर्नुको सट्टा उनी अन्यत्र लागे।’

सेप्टेम्बरमा भएको एक मात्र टेस्टमा बंगलादेशले अफगानिस्तानलाई २ सय २४ रनको नतिजा सुम्पिएको थियो। साकिबको नेतृत्वमा बंगलादेशी खेलाडीले सोमबार बिसिबीविरुद्ध आन्दोलन सुरु गरेका थिए। यद्यपि खेलाडीहरूले आन्दोलन फिर्ता लिँदै शुक्रबारबाट अभ्यासमा फर्किसकेका छन्। बंगलादेशले अर्को महिना भारतको भ्रमण गर्दै छ।

 

 

प्रकाशित: १० कार्तिक २०७६ ०४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App