खेल

खेलमैदान निर्माणका लागि देउसीभैली

खोटाङ –  खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका स्थानीयले खेलमैदान निर्माणका लागि काठमाडौंमा देउसीभैली सुरु गरेका छन्। लफ्याङको छिवामा निर्माणाधीन मझुवागढी रणजितमान राई खेलमैदानको बाँकी काम पूरा गर्नका लागि आर्थिक स्रोत जुटाउन राजेन्द्र राईको अध्यक्षतामा गठित ७ सदस्यीय आर्थिक संकलन सहयोग समितिले काठमाडौं पुगेर देउसीभैली थालेको हो।

हाल उपत्यकामा बसेर व्यापार व्यवसाय, रोजगारलगायतका काम गरिरहेका खोटाङबासीको घरघरमा पुगेर देउसी सुरु गरिएको खेलमैदान आर्थिक संकलन सहयोग समितिका अध्यक्ष राजेन्द्र राईले बताए। निर्माणाधीन खेलमैदानका लागि आवश्यक रकम जुटाउन जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ, लफ्याङका वडाध्यक्ष निर्मल राईलगायतको टोली तिहारको अवसर पारेर काठमाडौं पुगेको हो। १ सय २० मिटर लम्बाइ र ८० मिटर चौडाइ हुने खेलमैदानको बाँकी काम पूरा गर्नका आर्थिक अभाव भएको भन्दै गत असोज ९ गते १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई गुहार्न विराटनगर पुगेको टोली  पुन काठमाडौं पुगेको हो।

लफ्याङमा दर्शक बस्ने स्टेडियमसहितको खेलमैदान बनाउनका लागि हाल डिपिआरको काम भइरहेको छ। आरसिसी कन्सल्ट प्रालिले तीन महिनामा पूरा गर्ने गरी खेलमैदानको डिपिआरको काम थालेको वडाध्यक्ष राईले बताए। स्थानीयले १८ रोपनीभन्दा बढी जग्गा निशुल्क दिएपछि लफ्याङको छिवामा खेलमैदान निर्माण सुरु गरिएको हो।

वडा कार्यालयको १२ लाख ७० हजारको खर्चमा गत जेठ ७ गते शिलान्यास गरिएको खेलमैदानको अधिकांश भाग सम्याउने काम सम्पन्न भइसकेको छ। खेलमैदानमा करिब ४० जना अट्ने मञ्च, रातका समयमा पनि खेल सञ्चालन गर्न सकिने विद्युत्को व्यवस्था, बस, कार तथा मोटरबाइक पार्किङ स्थल, गेस्ट रुम, चेन्जिङ रुम, वेटिङ रुमसहितको घर, सामान्य तथा भिआइपी शौचालय, पिउने पानीको धारालगायतको संरचना निर्माण गर्ने गरी डिपिआरको काम थालिएको वडाध्यक्ष राईले बताए।

वडा कार्यालयको आग्रहमा स्थानीय जग्गादाता पञ्चसेर राईले ९ रोपनी, सर्वजित राईले ५ रोपनी र हर्कराज राईले ३ रोपनी जग्गा वडाको नाममा निशुल्क पास गरिदिएपछि खेलमैदान निर्माण सुरु गरिएको हो। यस्तै, बालाचन्द्र राईले पनि ७ रोपनी जग्गा प्रदान गरेका छन्। खेलमैदानका लागि वडाकै विभिन्न स्थानमा निशुल्क जग्गा जुटाउने क्रममा छिवाका स्थानीय जग्गा दिन तयार भएपछि मकैको बिरुवा हुर्कंदै गरेको बारीमा खेलमैदान निर्माण सुरु गरिएको थियो। दिक्तेल–खोटाङबजार सडक खण्डमा पर्ने भएकाले खोलमैदानबाट साकेला गाउँपालिकाका खेलाडी समेत लाभान्वित हुने निर्माण उपभोक्ता समितिले दाबी गरेको छ। निशुल्क जग्गा उपलव्ध गराएकामा जग्गदाताकै बाजे रणजितमानको नामबाट खेलमैदानको नामकरण गरिएको हो।

प्रकाशित: १० कार्तिक २०७६ ०४:११ आइतबार

दिक्तेल_रूपाकोट देउसीभैली