खेल

पुरुषतर्फ सुमन र महिलातर्फ इमिली च्याम्पियन

पोखरा – साहसिक जलयात्रासहितको दी कासांगा च्यालेन्ज कपअन्तर्गत पुरुषतर्फको उपाधि सुमन तामाङले जितेका छन्। साइक्लिङ, रनिङ र कायाकिङ रेसको फुल च्यालेन्जमा तामाङले एक घण्टा २५ मिनेटमा दूरी पूरा गर्दै उपाधि जितेका हुन्। नेपालकै प्रशान्त राई भने १५ सेकेन्डले पछि पर्दै उपविजेता बने। त्यसै गरी तेस्रो स्थानमा शक्तिकुमार गुरुङ आए। उनले एक घण्टा २६ मिनेट ५७ सेकेन्डमा दूरी पूरा गरेका थिए।

नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सी (नारा) गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको अन्तर्राष्ट्रियस्तरको दी कासांग च्यालेन्ज २०१९ को च्याम्पियनमा महिलातर्फ  अमेरिकाकी इमिली लिटल च्याम्पियन बनेकी छिन्। छनोट चरणपछि आज (शनिबार) अपर सेतीमा भएको फुल च्यालेन्जमा निर्धारित ३२ किमी (साढे ७ किमी साइक्लिङ, साढे ६ किमी रनिङ र ८ किमी कायाकिङ) एक घण्टा २५ मिनेटमा पार गर्दै महिलातर्फ विजेता बनेकी लिटलले १ घण्टा ३६ मिनेट १२ सेकेन्डमा दूरी पूरा गर्दै च्याम्पियन बनेकी हुन्।

अस्ट्रेलियाकी लिज हेथ एक घण्टा ४४ मिनेट ३४ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो स्थानमा रहिन्। तेस्रो स्थानमा भने नेपाली खेलाडी सुधा राई आइन्। उनले एक घण्टा ५४ मिनेट ११ सेकेन्डको समय लगाउँदै दूरी पूरा गरिन्। पुरुष तथा महिलातर्फका विजेताले पदक, प्रमाणपत्रसहित नगद एक लाख, दोस्रो स्थानमा रहेका खेलाडीले ५० हजार र तेस्रो स्थान प्राप्त गर्नेले २५ हजार रुपैयाँ प्राप्त गरे।

च्याम्पियनसिपका प्राविधिक संयोजक निमबहादुर मगरका अनुसार हाफ च्यालेन्जमा पुरुषतर्फ एपिएफका लक्ष्मण मल्लले  ७.५  किमी साइक्लिङ र ६.५ किमी रनिङलाई ४१ मिनेट १८ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बने। उनले उपाधिसहित नगद ३० हजार प्राप्त गरे। त्यस्तै, दोस्रो बनेका नेपाल आर्मीका हिमाल टमाटाले ४२ मिनेट २४ सेकेन्डमा दूरी पूरा गर्दै मेडल तथा प्रमाणपत्रसहित २० हजार हात पारे भने तेस्रो बनेका आर्मीकै कमल ओलीले निर्धारित दूरी ४६ मिनेट १५ सेकेन्डमा पार गर्दै मेडल तथा प्रमाणपत्रसहित नगद १० हजार प्राप्त गरे।

सोही स्पर्धामा महिलातर्फ  एपिएफकी हुमी बुढामगरले सो दूरीलाई ५१ मिनेट ३ सेकेन्डमा पूरा गर्दै  हाफ च्याम्पियनको हकदार बनिन्। उनले नगद ३० हजार प्राप्त गरिन्। त्यस्तै, दोस्रो बनेकी सोही क्लबकै इन्द्रकला नेम्वाङले ५२ मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै मेडल तथा प्रमाणपत्रसहित २० हजार हात पारिन्। तेस्रो बनेकी एपिएफकै निर्जला ताम्राकारले निर्धारित दूरीलाई ५४ मिनेट ०९ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थानमा रहिन्। उनले १० हजारमा चित्त बुझाइन्।

च्यालेन्जमा विजेता तथा उपविजेता र सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पुरस्कार वितरण गरेका थिए। संयोजक निम मगरका अनुसार ८ र ९ गते सञ्चालन भएको फुल र हाफ च्याम्पियनमा विभिन्न मुलुकका सयभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो। फाइनल चरणमा ४७ जना खेलाडी सहभागी थिए। फुल च्यालेन्जमा २५ जना र हाफ च्यालेन्जमा २२ जनाले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १० कार्तिक २०७६ ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App