खेल

आर्सनल सेफिल्डसँग पराजित

सेफिल्ड – आर्सनलका प्रशिक्षक युनेई इमिरेले आफ्नो टोली आर्सनल सेफिल्ड युनाइटेडसँग पराजित हुनु दुर्भाग्य भएको बताएका छन्। इङ्लिस प्रिमियर लिगअन्तर्गगत सोमबार भ्रमणकारी टोली आर्सनल तालिकाको नवौं स्थानमा रहेको सेफिल्डसँग १–० ले पराजित भएको थियो।

घरेलु टोलीलाई जित दिलाउन ल्यास मौसेटले ३०औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। यससँगै आर्सनलले जारी लिगमा दोस्रो पराजय भोगेको छ।

निर्णायक गोल गरेका फ्रेन्च स्ट्राइकर मौसेटले जारी लिगमा सेफिल्डका लागि पहिलो गोल गरेका छन्। आर्सनलको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै प्राप्त अवसरलाई मौसेटले जाली चुमाउन सफल भएका थिए। उक्त गोल गर्न भ्रमणकारी टोलीलाई स्तब्ध बनाउन पर्याप्त भएको हो।

पराजित आर्सनल १५ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ। सम्पन्न ९ खेलमध्ये आर्सनलले ४ खेलमा जित ३ मा बराबरी र २ खेलमा नतिजा सुम्पिएको छ। कठिन प्रतिद्वन्द्वीविरुद्ध अंक बटुल्न सफल सेफिल्डको समान ९ खेलबाट १२ अंक छ।

तर प्रशिक्षक इमिरेले आर्सनल सेफिल्डसँग बराबरीसम्मको नतिजा निकाल्नेमा आशावादी थिए। तर पेनाल्टी बक्सभित्रको फाउललाई पेनाल्टी नदिएकोमा उनले गुनासो गरे।

‘हामी हारका हकदार होइनौं। यथेष्ट प्रमाणबिना बोल्नु उचित हुँदैन। पहिलो गोल थियो भने एउटा स्पष्ट पेनाल्टी थियो। भिएआरबाट हेरे पनि हाम्रो पक्षमा निर्णय भएन,’ प्रशिक्षक इमिरेले भने, ‘उनीहरूको भन्दा हामीले राम्रा अवसर सिर्जना गरेका थियौं। गोल गर्दै अग्रता लिन  सकेको भए खेल नतिजा अर्कै हुन सक्थ्यो।’

अवे खेलमा आर्सनललाई दबाब परेको हो भन्ने प्रश्नमा प्रशिक्षक इमिरेले सधैं जितको लक्ष्यसहित मैदान उत्रने गरेको प्रतिक्रिया दिए।‘सबै खेलमा जितको लक्ष्यसहित हामीले तयारी गरिरहेका हुन्छौं,’ प्रशिक्षक इमिरेले भने, ‘सेफिल्डले रक्षात्मक खेल देखायो। रक्षापंक्तिलाई चिर्न निकै कठिन भयो।’

 

प्रकाशित: ६ कार्तिक २०७६ ०४:२२ बुधबार

प्रशिक्षक आर्सनल_सेफिल्ड युनाइटेड