खेल

न्युजिल्यान्डको सेमिफाइनल प्रतिद्वन्द्वी इङ्ल्यान्ड

टोकियो – आरोन स्मिथले दुई ट्राइ गरेको खेलमा डिफेन्डिङ च्याम्पियन न्युजिल्यान्डले शनिबार आयरल्यान्डलाई स्तब्ध बनाउँदै जारी रग्बी विश्वकपको सेमिफाइनलमा इङ्ल्यान्डसँगको भेट पक्का गरेको छ। 

न्युजिल्यान्डले क्वार्टरफाइनलमा आयरल्यान्डमाथि ४६–१४ स्कोरको जित निकाल्दै अर्को हप्ता योकोहामामा हुने पहिलो सेमिफाइनलमा इङ्ल्यान्डसँगको भेट पक्का ग¥यो। एल ब्लाक्स नामले समेत चिनिने न्युजिल्यान्डले पहिलो हाफमा तीन ट्राइ गरेको थियो। दोस्रो हाफमा चार ट्राइ गरेपछि न्युजिल्यान्डले लगातार तीन विश्वकप उपाधि यात्रा कायमै राखेको छ।

आयरल्यान्डले खेलको एक मात्र ट्राइ दोस्रो हाफमा गरेको थियो। पिभोत रिची मोङ्गा एक्लैले ११ स्कोर गरेपछि न्युजिल्यान्डले विश्वकपमा लगातार १८ खेलमा जित निकालेको छ। सन् २००७ को विश्वकप क्वार्टरफाइनलमा फ्रान्ससँग २०–१८ स्कोरले हारेपछि न्युजिल्यान्डले विश्वकपमा लगातार जित निकाल्दै आएको छ।

साथै न्युजिल्यान्डले आयारल्यान्डसँगको ३२ खेलमा २९ भेट आफ्नो पक्षमा पारेको छ। समूह ‘बी’ बाट समूहविजेताको रूपमा क्वार्टरफाइनलमा पुगेको न्युजिल्यान्डले पहिलो खेलमा दक्षिण अफ्रिकामाथि संघर्षपूर्ण जिते निकालेपछि प्रशिक्षक स्टिभ ह्यानसेनले त्यसपछिका बाँकी खेलमा आफ्नो टोलीमा धेरै परिवर्तन गरेका थिए।

जसका कारण समूहका अन्य खेलमा न्युजिल्यान्डले क्यानडाविरुद्ध ६३–० र नामिबियाविरुद्ध ७१–९ को जित निकाल्दै इटालीसँगको खेल भने आँधी हुरीका कारण रद्द भएको थियो। टोकियो रंगशालामा भएको खेलमा पनि न्युजिल्यान्ड राम्रो टोली मानिएको आयरल्यान्डविरुद्ध पूर्ण रूपमा हाबी भयो। यता, इङ्ल्यान्डले पनि अस्ट्रेलियालाई ४०–१६ स्कोरले हराउँदा पहिलो हाफमा उसका स्टार जोनी मेले दुई ट्राइ गरेका थिए।

ओइता स्टेडियममा त्यो सफलतापछि विश्व नम्बर दुई इङ्ल्यान्डले अर्को शनिबार योकोहामामा हुने सेमिफाइनलमा स्थान बनाएको हो। सन् २००७ पछि पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको इङ्ल्यान्डले दुवै हाफमा समान दुई ट्राइ गरेको थियो। विश्व वरीयतामा सातौं स्थानमा रहेको अस्ट्रेलियाले खेलमा एक मात्र ट्राइ गर्दा दोस्रो हाफमा सफलता प्राप्त गरेको थियो।  

आइतबार क्वार्टरफाइनलका दुई खेलमा वेल्सले फ्रान्ससँग ओइतामा प्रतिस्पर्धा गर्दा पहिलोपटक रग्बी विश्वकपको क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्न लागेको घरेलु टोली जापानले टोकियोमा दक्षिण अफ्रिकाविरुद्ध चुनौती प्रस्तुत गर्नेछ।

प्रकाशित: ३ कार्तिक २०७६ ०२:३३ आइतबार

सेमिफाइन रग्बी_विश्वकप