खेल

तेक्वान्दो खेलाडीलाई बिदाइ

खेलाडी विदाइ गरिसकेपछि सामुहिक फोटो खिचाइँदै । धनबहादुर /नागरिक

जुम्ला- जुम्लाबाट एक प्रशिक्षकसहित पाँच जना तेक्वान्दो खेलाडी थाइल्याण्ड जानको लागि जुम्लाबाट हिँडेका छन्। उनीहरुलाई जिल्ला खेलकुद विकास समिति जुम्लाले एक कार्यक्रमको आयोजना गरेर बिदाइ गरेको हो। सुर्खेत, काठमाडौं र सल्यान जिल्लामा आयोजना भएका प्रतियोगितामा मेडल हात पारेका खेलाडीले थाइल्याण्ड खेल्न जान पाउने अवसर पाएका थिए।

आगामी कार्तिक ६ गतेदेखि थाइल्यान्डमा हुने ९ औं डिरक तेक्वान्दो अन्तर्राष्ट्रिय प्रतियोगिता २०१९’ मा ३४ किलो अन्तर्गतको खेलमा सहभागी हुन उनीहरु प्रस्थान गरेका हुन्।  गुठीचौर गाउँपालिका–३ गज्याङकोटका १४ वर्षीया मङगल कामी, तिलागाउँपालिका–३ का सर्पेन्द्र भट्राइ, चन्दननाथ नगरपालिका–५ बस्ने अस्मिता  सुनार, गुठीचौर गाउँपालिका–५ का पोषण न्यौपाने र प्रशिक्षक लालबहादुर रोकायालाइ बिदाइ गरिएको जिल्ला खेलकुद विकास समिति जुम्लाले जनाएको छ। उनीहरुलाई अविर, खादासहित प्रति व्यक्ति तीन, तीन हजार रुपैयाँ भाडा स्वरुप प्रदान गरेर विदाइ गरिएको खेलकुद विकास समितिका कार्यालय प्रमुख बमबहादुर महतले जानकारी दिए।

लामो समयदेखि जुम्लामा खेलाडीले प्रशिक्षण लिइरहेका थिए। प्रशिक्षण रोकाया प्रशिक्षण सन्तोषजनक रहेको बताउँछन्। पहिलो पटक जुम्लादेखि थाइल्याण्डमा खेल्न अवसर पाएका छौँ,‘ उनले भने, ‘यो नै सौभाग्यको विषय हो। प्रतियोगितमा जितहार जे भएपनि यहाँबाट गएका खेलाडीले सन्तोषजनक खेलप्रदर्शन गर्नेछन् भन्नेमा विश्वस्त छु।’ जुम्लाको चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र गुठिचौर गाउँपालिकाबाट खेलाडी छनौटमा परेका थिए। जसमा गुठिचौर गाउँपालिका–३ का इश्वर बुढा भालुको आक्रमणमा परेर घाइते भएपनि उनी जान पाएनन्। जुम्लादेखि हिडेको खेलाडीको टोली ४ गते थाइल्याण्ड प्रस्थान गर्नेछ।

जुम्लाबाट तेक्वान्दो खेलाडीले विदेशमा खेल्न पाउने अवसर मिलेकोमा जुम्लाबासी निकै उत्साहित छन्। सकभर सिंगो देशको नाम उचो बनाउन गरेर खेल प्रदर्शन गर्नेछन्, प्रशिक्षक रोकाया भन्छन्, ‘नत्र आफ्नो बलवुतोले भ्याउँदा सम्मको खेल प्रदर्शन गर्न सफल हुनेछन्।’ आर्थिक अभावका बीच घरबाट एक एक लाख रुपैयाँ उपलव्ध गराएर भएपनि खेलाडीलाई परिवारले थाइल्याण्ड जानको लागि विदाइ गरेका छन्। 

गुठिचौर गाउँपालिका–३ का मंगल कामीको आर्थिक अवस्था नाजुक भएका कारण समाजसेवी दानबहादुर बुढाले आर्थिक संकलन गरेर थाइल्याण्ड जान सम्भव तुल्याएका थिए। पहिलो पटक बाल्यअवस्थामै थाइल्याण्डमा गएर खेल प्रदर्शन गर्न पाएको प्रति अभिभावक निकै खुसि छन्। उनीहरुले आफ्नो खेल प्रदर्शनका लागि आर्शिवाद दिँदै खेलक्षेत्रको विकासका लागि सबै एकजुट हुनुपर्ने सन्देश दिएका छन्।

यसअघि पटक पटक एथ्लेटिक्स खेलाडीहरु विदेश खेल्न पुगिसकेका छन्। उनीहरु विदेशमा खेल प्रदर्शन गरेर रित्तोहात फर्केका छैनन्। विदाइ समारोहमा अभिभावक समेत सहभागी थिए। यहाँका खेलाडी खेल सामाग्रीको अभाव, खेलमैदानको अभावमा खेल प्रशिक्षण गर्न बाध्य छन्। खेलाडीलाई थाइल्याण्डका लागि विदाइ गरेसँगै यहाँका सरोकारवाला निकायाको ध्यान खेलक्षेत्रमा पनि पर्ने जानकार बताउँछन्। थाइल्याण्डमा विभिन्न ३२ देशका खेलाडी सहभागी हुनेछन्।

प्रकाशित: १ कार्तिक २०७६ ११:२० शुक्रबार

तेक्वान्दो_खेलाडी थाइल्याण्ड_प्रस्थान