खेल

उधारोमा राष्ट्रिय प्रतियोगिता

खेल मैदान तयारी गर्दै आयोजक।

रोल्पा - रोल्पा मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा हुने ‘सहिद स्मृति मार्शल आर्टस् हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ। यहि कार्तिक १ र २ गते परिवर्तन गाउँपालिकाको पुत्लाचौरमा उक्त प्रतियोगिताको औपचारिक सुरुवात गरिने छ। यतिखेर आयोजक मन्च निर्माण, खेलाडीको बसाई व्यवस्थापनको तयारी, फिल्ड निर्माण लगायतमा लागि परेकोे छ। ‘हामी अन्तिम चरणमा छौ। लगभग सबै तयारी सकियो। भोलिबाट खेलाडी आउनेक्रम सुरु हुन्छ।’ कार्यक्रमका संयोजक यमुना घर्तीले भनिन्।

राष्ट्रिय स्तरको खेलकूद प्रतियोगिता सुरु हुनै लाग्दा पनि आयोजकलाई आर्थिक जोहो कसरी गर्ने भन्ने चिन्ता छ।  खेल हुने स्थानीय सरकार परिवर्तन गाउँपालिकाले १० लाख आर्थिक सहयोग गर्ने बताए पनि अन्य स्थानीय तहले आजसम्म केहि बोलेका छैनन्। त्यसो त प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले पनि मौखिक रुपमा सहयोगको आश्वासन दिए पनि निर्णय भने गरि सकेको छैन। जिल्ला खेलकूद विकाश समितिले झन यति ठुलो कार्यक्रम आयोजना गर्दै गर्दा कुनै चासो समेत नदिएको आयोजकले गुनासो गरेको छ। घर्ती भन्छिन्, ‘अहिलेसम्म वास्ता गरेको छैन। अतिथिका लागि निम्तो गरेको छौ।’

घर्तीका अनुसार अहिलेसम्म करिब १७ लाख खर्च भइसकेको छ। सबै उधारो र ऋणमा चलिरहेको छ। ‘परिवर्तन गाउँ पालिकाले १० लाख दिने भनेको छ। अरुले सहयोग गरेनन् भने आयोजकले ऋण बोक्नुको बिकल्प छैन।’ घर्ती भन्छिन् ‘खर्च बचत गर्न फिल्ड निर्माण लगायतका काम आफै गरिरहेका छौ। अनुमानित करिब ३० लाख खर्च हुने देखिएको छ। हामीलाई अहिलेको समस्या आर्थिक नै हो।’ फिल्ड निर्माणदेखि सबै तयारी आयोजकले गरिरहेको छ।

प्रतियोगितामा सात प्रदेशका सात टिम र आयोजकको एक गरी जम्मा ८ टिम सहभागी हुनेछन्। एक टिममा १६ खेलाडी समावेस गरिने आयोजकले बताएको छ। पुरुषतर्फ ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५ र ६५–७० केजी तौल समुहका खेलाडी सहभागी हुनेछन। त्यसै गरि महिलातर्फ पनि सोहि तौल समुहले सहभागिता जनाउने छन्।

६४ वटा पदक रहेको खेलमा स्वर्ण १६, रजत १६, कास्य ३२ गरि जम्मा ६४ वटा पदक राखिएको छ। परिवर्तन गाउँपालिकाको मुख्य प्रायोजनमा सम्पन्न हुने खेलको संयोजकका रुपमा महिला खेलाडी तथा हाप्किडो संघका जिल्ला अध्यक्ष यमुना घर्तीमगर रहेकी छिन। आयोजकका अनुसार यस प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी, उदयमान खेलाडी, प्रशिक्षक र निर्णायकलाई दश दश हजार नगदसहित सम्मान गरिने छ। त्यसै गरि टिम प्रथम, द्धितिय र तृतियलाई आर्कषक ट्रफी, प्रमाण पत्र तथा नगद पुरस्कारको व्यवस्था गरिएको छ।

प्रकाशित: ३० आश्विन २०७६ ०६:५२ बिहीबार

राष्ट्रिय_प्रतियोगिता खेलकूद